कात्तिकको कारोबारको पहिलो दिनमै नेप्सेमा पहिरो, कटेन २६०० को विन्दु

-



     सफल आवाज    
     कार्तिक १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ कात्तिक। नेपाल राष्ट्र बैंकले शेयर कर्जामा १२ करोडको सिमा तोकेदेखि असन्तुलित हुँदै आएको शेयर बजारले अझैं लय लिन सकेको छैन ।

उक्त सिमाको विरुद्ध लगानीकर्ताहरु आन्दोलनमा उत्रिए । यही बीचमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको छ ।

अहिले चाडपर्व बिचमा रहिरहेको अवस्था र दशैंको बिदापछि सोमबार खुलेको शेयर बजारको स्वरुप राताम्मै भएको छ । नेप्से सोमबार २६०० को विन्दु कट्न सकेन ।

यसदिन नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक ६९.६० अंकले घटेर २५८७.३६ विन्दुमा झरेको छ । नेप्सेमा २.६२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १२.६० अंकले घटेर ४८४.७६ विन्दुमा रहेको छ ।

कुल २१८ कम्पनीको शेयर कारोबार भएको छ । ८७ लाख ७६ हजार ३३७ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये व्यापार उपसमूहतर्फ ०.६३ प्रतिशतको बृद्धि देखिए पनि अन्य १२ वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको ९ करोड ८९ लाख ९८ हजार ५१८ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।