बस्नेतको ब्यवसायिक उडान

-


     सफल आवाज    
     कार्तिक २ गते २०७८ मा प्रकाशित


नेपालको व्यवसायीक जगतमा स्थापित नाम हो वीरेन्द्र बहादुर बस्नेत । सपना देख्नेले नै सफलता हासिल गर्न सक्छन। यस्तै एक पात्र जसले महत्वाकांक्षी सपना देखेर अहिले सफल भएका छन् । पेशामा निरन्तरता, इमान्दारिता र लगनशिलता । यी तीन सूत्र जीवनमा लागु गर्दै सफल भएका व्यक्ति हुन् नेपालको अग्रणी डोमेस्टिक एयरलाइन्स बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत । सफल आवाजको स्तम्भ सफल प्रोफाइलमा हामीले प्रबन्ध निर्देशक बस्नेतको व्यवसायीक यात्रालाई प्रस्तुत गरेका छौं ।


सन १९९७ अक्टोबरमा बुद्ध एयर स्थापना गरेको बस्नेत परिवार त्यसअघि मोरङको लक्ष्मीमार्गमा कृषी पेशामा सक्रिय थियाे । बुबाकाे कृषी फार्ममा काम गर्दै गर्दा माओवादी जनयुद्धको असर खेपिरहेका वीरेन्द्र बस्नेतले अध्ययनका लागि काठमाडौं जाने याेजना बनाए । उनकाे परिबारले उनलाइ साथ दियाे अनि बस्नेत राजधानी हानिए ।

अध्ययनपछि उनले काठमाडौंमै बिबाह गरे । उनलाइ नयाँ क्षेत्रमा आउन बिबाह पनि एउटा सहयोगी पाटो बन्यो । काठमाडौंमा जन्मेहुर्केकी श्रीमती सुनिता पनि केही समय त गाउँमा गएर बसिन् । तर धेरै समय गाउँमा बस्न सकिनन् । छोरी जन्मिएपछि उनीहरु काठमाडौंमै बस्न थाले ।


२८ वर्षको उमेरमा परिवारसहित काठमाडौं आएका बस्नेत जागिर खाने पक्षमा भने थिएनन् । गार्मेन्ट उधाेगमा लगानी गर्ने सोचमा थिए । तर त्याे समय गार्मेन्ट व्यवसाय ओरालो लागेकाे अवस्था थियाे । ‘के गरौं, के नगरौं भइरहेका बेला केही आफन्त र अग्रजहरुले हवाई सेवामा हात हाल्न सुझाए, बस्नेत सम्झन्छन् ।


त्यसबेला निजी क्षेत्रको नेकोन एयरले बजार लिड गरेकाे थियो । एकदमै पुराना जहाजहरु मात्र उड्थे । नयाँ जहाजबाट सेवा दिन सक्दा व्यवसाय राम्रो चल्छ भन्ने सुझाव आयो । ‘त्यसबेला १८ सिटको नयाँ जहाजमा १६ झ्याल थिए । त्यही जहाज ल्याएर माउन्टेन फ्लाइट गर्ने सोच बनाएँ । उनी भन्छन्, ‘हिमालको देशमा २५ हजार फिट माथि उडाएर सेवा दिन सकियो भने मान्छे आउँछन् भनेर जहाज भित्रायौं ।’


त्यसबेला जहाज खरिदमा ९० प्रतिशतसम्म बैकबाट ऋण पाइन्थ्यो । बाँकी १० प्रतिशत नगद आफैले लगानी गरेर उनले ३५ करोड रुपैयाँको बिचक्राफ्ट १९०० डी जहाज ल्याए । अनि शुरू भयाे बुद्द एयर । त्यसबेला नेपालमा ७ करोड हाराहारीका जहाजहरु मात्र उडिरहेका थिए ।


कृषि पेशामा रमाएका बस्नेतसँग विमान सेवाको अनुभव भने थिएन । फेरि अत्यन्तै महंगो १८ सिटे जहाजले एब्रोको ४७ सिटको जहाजसँग प्रतिपर्धा गर्नुपर्ने थियो । प्रतिस्पर्धी जहाज सस्तो र ठूलो भएकाले आफ्नो जहाज महंगो भए पनि भाडा सस्तो बनाउनु बाध्यता थियो । तीव्र प्रतिस्पर्धा बिचमा पनि बस्नेतले जहाज उडाइरहे ।


उनले पाँच वर्षसम्मको घाटा बैक ऋण लिएर तिर्दै गए । निरन्तर घाटाले सडकमा पुरयाउने हो की भन्ने खतरा बढ्यो । ‘पहिलो पाँच वर्ष त निल्नु न ओकल्नु जस्तो भयो । एक जना बैंकरले गाली नै गरेको सम्झना अहिले पनि ताजै छ उनी भन्छन ।

यता घाटासँगै बैकको ऋण थपिँदै गयो । उता मोरङको ९० बिघा जग्गामा माओवादीकाे कब्जा । र पनि, बस्नेतले लत्तो छाडेनन् । नभन्दै, छैठौ वर्षमा कम्पनी नाफामा गयो र त्यो क्रम जारी रहृयो । त्यो कसरी सम्भव भयो त ? बस्नेत भन्छन्, सबैको मिहेनत र ग्राहकको बिश्वासले यो सम्भव भएको हो । साथै मेरो आजको सफलतामा ‘बुवाको अभिभाबकत्व प्रमुख हो, बुबा नै मेरो गुरु हो, बुवा कै कारण आज यो सबै भएको हो, बस्नेत भन्छन । अहिले बुद्ध एयरमा ११०० कर्मचारी कार्यरत छन ।

बुबा सुरेन्द्रबहादुरको साथ

बुद्ध एयरको शुरुवात गर्ने संस्थापक हुन बुवा सुरेन्द्र बहादुर बस्नेत। जो पूर्वन्यायाधीश, संवैधानिक अंगका प्रमुख र पूर्ब मन्त्री पनि हुन् । बि.सं. १९८४ सालमा भोजपुरको दिंग्लामा जन्मिएका सुरेन्द्रबहादुर कानूनमा स्नात्तकोत्तर गर्ने पूर्वाञ्चलकै पहिलो व्यक्ति हुन् । ९४ वर्षीय उनी नै अहिले पनि बुद्ध एयरका संस्थापक एबं अध्यक्ष छन् ।


बस्नेत सर्वोच्च अदालतका मुख्य न्यायाधीश, संस्थापक मुख्य निर्वाचन आयुक्त, कानून, न्याय तथा शिक्षा मन्त्री, वित्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका उनी सञ्चार क्षेत्रको नियामक निकाय प्रेस काउन्सिल नेपालका प्रथम अध्यक्ष समेत हुन् । उनीसँग कानूनी आयोगहरुमा समेत काम गरिसकेको अनुभव छ ।


उनैको जेठो छोरा वीरेन्द्र बहादुर बस्नेत, जो सधैं उद्यमशीलता र व्यापारमा रुचि राख्थे । उनी आफ्नो निर्यात कम्पनी ’अर्जु इन्टरनेशनल’ मा संलग्न थिए । त्याे समय सुरेन्द्रबहादुरका अर्का छोरा शिबेन्द्र बहादुर बस्नेत अध्ययनका लागि युक्रेन गएका थिए । उनी हेलिकप्टरको पाइलट बनेर सन् १९९४ मा स्वदेश फर्किए ।


त्यसबेला नेपालमा हवाई यातायातको माग बढ्दो थियो । पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको थिएन । यसकारण पनि हवाई यातायातको माग धेरै थियो । यहीँ आवश्यकतालाइ पुर्ति गर्न सुरेन्द्रबहादुरले औपचारिक रुपमा १९९७ मा बुद्ध एयरको स्थापना गरे । बुबा सुरेन्द्रबहादुरले शुरु गरेको बुद्ध एयरको सम्पूर्ण नेतृत्व अहिले छाेरा विरेन्द्रले गरिरहेका छन् ।


‘नेपालीलाई सस्तो र सुरक्षित महशुस गराएर हवाई सेवा दिने हामी नै हौ’, प्रवन्ध निर्देशक बस्नेत भन्छन्, ‘हामी यो इतिहास रचेको दाबी गर्छौं ।’ नाफा कमाउने मात्र होइन सुरक्षित सेवा दिने इतिहास बुद्ध एयरले रचेको दाबी पनि उनले गरे ।

अबकाे याेजना

आन्तरिक उडानतर्फ नेपालको नम्वर वान बनेको बुद्ध एयरले बाहिरचाहिँ भारतको वाराणसीमा उडान गरिरहेको छ । अन्तर्राष्ट्रिय उडान भरिरहेका एयरलाइन्सहरुसँग प्रतिष्पर्धा गर्न सहज नभएकाले त्यता नहौसेको बस्नेत बताउछन् । काठमाडौं–कोलकत्ता उडानमा सफल भएपछि अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरुमा जाने उनको योजना छ ।

फुर्सदमा अध्ययन गर्न रुचाउने बस्नेतले पुर्वी माेरङकाे बेलबारीमा समुदायसंग मिलेर ब्यवसायीक आधुनिक कृषीखेती पनि गरिरहेका छन । नेपालमा खेतीयोग्य जमिन पनि पर्याप्त छ। तर कृषिप्रधान मुलुक भएर पनि कृषिजन्य उत्पादनहरु आयात गरेरै खानुपर्ने बाध्यता छ । सरकारीस्तरबाट बेला बेला कृषि प्रवर्धनका विषय उठान भइरहन्छन । व्यवसायिक कृषिको नाममा धेरै योजना पनि बनेका छन् । तर कृषि व्यवसायीकरण हुन सकिरहेको छैन । सोको परिपुर्ति गर्न अब आधुनिक कृषीखेतीमा सक्रिय रहने बस्नेतको योजना छ ।