कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरणको प्रश्न

-


     अमृत पाण्डेय      
     कार्तिक ६ गते २०७८ मा प्रकाशित


युवा नेतामा विचार छ, भिजन छ। नेतृत्व पाए दौडाउने आँट र साहस छ। तर एउटै कुराको डर छ कि अहिले गुटको बागडोर सम्हालेका नेताको विरुद्धमा गए पार्टी राजनीति सिद्धिन्छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अधिकांश जिल्लामा वडा र नगर अधिवेशनहरू सम्पन्न भएका छन्। कतिपय ठाउँहरूमा प्रदेश, क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। नेपाली कांग्रेसका नेताहरूको देश दौडाहा चलिरहेको छ भने स्थानीय तहमा नेता कार्यकर्ताको सक्रियता बढिरहेको छ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको पर्वका रुपमा लिइने महाधिवेशनले केन्द्र देखि गाउँ जोड्ने विश्वास गरिएको छ। पार्टी जीवनमा रक्तसंचार भएको छ। अहिले सबैको ध्यान नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीत भएको छ। सधै जस्तै यसपाली पनि नेतृत्व हस्तान्तरणको प्रश्न जोडतोडका साथ उब्जिएको छ ।

नेतृत्व हस्तान्त्रण र परिवर्तनका जस्तै चर्का वहस गरिए पनि नेतृत्वमा पुग्नेको विकल्पमा कमैको चासो हुन्छ, अथवा भनौ धेरै विकल्पमा छलफल नै हुन्न। ‘मेनु हेर्यो हेर्यो अन्तिममा मःम’ को शैलीमा सक्रिय गुटगत पक्षधरताले नै काम गरिरहेको हुन्छ।

महाधिवेशनबाट नेतृत्वमा युवाहरू पुग्नुपर्छ भन्ने साझा बुझाइ जत्तिकै हुन्छ। त्यसमा पनि परीक्षण भइसकेका नेतृत्वले यो गर्न सकेन, त्यो गर्न सकेन भन्ने खालका विश्लेषण पनि हुन्छन् तर अन्तिममा अगाडिका सबै कुरा बिर्सिएर राम्रो भन्दा हाम्रोको सुत्रले काम गर्न थाल्छ ।

खासगरी महाधिवेशनबाट युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने कुरा नयाँ होइन। यस भन्दा अगाडि पनि आम कार्यकर्ताले चाहेको र सोही अनुसार लागिरहेको भएपनि मुल नेतृत्वमा युवा समूहका नेताहरू पुगेको देखिएन। त्यति मात्र होइन युवामा नगएपनि तेस्रो विकल्पमा त जान सकिन्थ्यो तर महाधिवेशनमा पुगेका नेता कार्यकर्ताले नराम्ररी हराइदिन उद्धत भए परिवर्तन नारा र भाषणमा सिमित भयो। यसपाली पनि अवस्था त्यो भन्दा माथि पुग्न सक्ने सम्भावना कम रहेको विश्लेषण भइरहेकै छ। मुल नेतृत्व अहिले देखिएकै पुराना र उमेरले पाका नेताहरूबाट आउने सम्भावना छ।

त्यसो त पार्टीलाई बलियो बनाएर लैजान सक्ने र नेतृत्वमा पुगेपछि गुट भन्ने कुरा बिर्सन सक्ने नेतृत्व बने अहिलेकै सन्दर्भमा कांग्रेसमा उमेरले युवा नहुने कुरा गौण हो। किनकी नेतृत्वको क्षमता, विचारमा निखारता, अनुभव र कार्यकर्ता पंत्तिमा बनाएको विश्वासको आधारको धरातलमा पार्टी अगाडि बढाउन पुरानो पुस्ता पनि काविल नै छ। तर पार्टी पुरानै ढर्राबाट अगाडि बढ्दा जहिल्यै रुपान्तरण हुन नसक्ने अवस्थाबाट माथि नजाँदा नेतृत्वको कमजोरी नै पो हो कि भन्ने कुरा खड्किएको हो।

अहिले आफूलाई महामन्त्रीको रुपमा अगाडि सारेका नेता गगन थापा १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिए। पार्टी भित्र र बाहिर उत्तिकै लोकप्रिय नेता थापाको त्यो साखले महामन्त्री बन्नमा काम गरेन । कारण उनले महामन्त्रीको रुपमा काम गर्न सक्दैनन् भनेर थिएन न त उनी आफैमा कमजोर र विचारहिन नै थिए तर उनी पार्टी भित्रको गुटको कारणले पछारिए।

यो एउटा उदाहरण मात्र हो, गुटको प्रभाव अधिक देखिएको कारण पनि राजनीतिक असुरक्षाका कारण सभापतिमै लड्ने हिम्मत युवा नेताहरूले गर्ने संभावना नदेखिएको प्रष्ट बुझिन्छ। युवा नेतामा विचार छ, भिजन छ, नेतृत्व पाए दौडाउने आँट र सहास छ तर डर एउटै कुराको छ, अहिले गुटको बागडोर सम्हालेका नेताको विरुद्धमा गए पार्टी राजनीति सिद्धिन्छ।

संसदमा खरो रुपमा उत्रने हिम्मत राख्छन्, सरकारमा मन्त्रालयको जिम्मेवारी पाए लोकप्रिय काम गर्छन्, सार्वजनिक मञ्चमा सबैको मन जित्छन्, अन्तराष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएकाछन् तर पार्टी भित्र निरिह बनाइएका हुन्छन्, हम्मेसी बोल्ने आँट गर्दैनन् बोली हाले पनि बोलीको मूल्य छैन।

गुटकै प्रभावका कारण गुटमा विभाजित कार्यकर्ता विचारलाई बन्धक बनाई युवाको पक्षमा बोल्ने आँट गरिरहेका छैनन। कार्यकर्ताको चाहना मुल नेतृत्वमा युवानेताहरूनै आउनुपर्ने भएपनि कम्तिमा परिक्षण भैसकेका भन्दा परिक्षण हुन बाँकी नेताहरू नेतृत्वमा आउन सक्ने हो भने यो परिणामले कांग्रेस कार्यकर्तामा उर्जा प्रदान गर्ने निश्चित छ।

इतिहासमा फर्किएर हेर्ने हो भने नेपाली कांग्रेसको स्थापना गर्दा कांग्रेस नेताहरू निकै कम उमेरका थिए। अहिले भनिएका जस्ता युवा नेता नभएर उमेरमै युवा थिए । विपी कोईराला ३८ वर्षमा पार्टी सभापती भएका थिए। प्रधानमन्त्री हुँदा उनी जम्मा ४५ वर्षका थिए। किसुनजी ३५ वर्षको उमेरमै सभामुख भएका थिए। त्यो एउटा समय थियो पञ्चयाती शासन व्यवस्थाको अन्त्य भइसकेपछि पनि नेपालमा प्रजातन्त्रको स्थापना भयो।

बि.स २०४६ को परिवर्तन पश्चात शेरवहादुर देउवा २०५२ मा ४८ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए। उनले युवा उमेरमै तत्कालीन सभापति गिरिजा प्रसाद कोईरालालाई सभापतिमा चुनौती दिनसकेका थिए। आज त्यस खालको चुनौती दिन सक्ने युवा नेता देखिएको छैन। परीक्षा बाँकी छ, अन्तिमसम्म टिक्न सके भने कल्याण गुरुङ घोषणा नै गरिसकेकाले टिक्लान त्यस बाहेक तेस्रो पुस्ताका नेताहरूको मुल नेतृत्व सभापतीमा दावी गर्ने आँट देखिँदैन।

खास गरी सभापति बाहेक महामन्त्री सहित अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा युवा नेताहरू आउने सम्भावना प्रवल देखिन्छ। वडा अधिवेशनवाट क्षेत्रीय प्रतिनिधिमा धेरै नेविसंघका नेताहरू आएकाले समेत पार्टीमा युवाहरूको वर्चश्व वढ्ने सम्भावना देखिएको हो। कान्छो पुस्ताका नेताहरू विभिन्न जिल्लाको नेतृत्व साथै प्रदेश समिति र केन्द्रीय समितिमा प्रवेश हुने अनुमान गर्न सकिन्छ।

३३ लाख मतदाता र ९ लाख क्रियाशील सदस्य भएको पार्टीलाई हाँक्ने नेतृत्व विचार र दृष्टीकोणले प्रष्ट दुरदर्शी हुन जरुरी छ। युवा उमेर मात्र पनि होईन उसको सोंच पनि हो । नेतृत्वका लागि युवाका नाममा युवाहरूको व्यवस्थापन मात्र भन्दा पनि उसले ल्याउने नीति, दृष्टीकोण र कस्तो विचार निमार्ण गर्दछ त्यसका आधारमा नेतृत्व चुनिनु जरुरी छ।

पार्टीलाई एकतावद्ध गर्दैै यो कठिन अवस्थालाई सामना गर्न सक्ने पाका र युवा पुस्ता दुवै समूहलाई मिलाएर नेतृत्वमा लैजान सक्ने हो भने भोलिको बलियो र नविन कांग्रेस निमार्णका लागि महत्वपूर्ण कदम हुनेछ।

पार्टीको नेतृत्वमाको पुग्छ भन्ने कुरामा पात्र प्रमुख होइन तर कसरी नेतृत्वमा पुराइन्छ र उसले भोलि पार्टीलाई कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्वपूर्ण हो। संभावना बोकेको र भिजन भएको जो कोही कांग्रेसी कार्यकर्ता (नेता) गुट कै आधारमा पार्टीका कुनै पनि तहमा पुग्न प्रतिबन्धमा पर्नु हुँदैन । अर्को तिर नेतृत्व छान्न जाने कार्यकर्ता पंत्ति कुनै न कुनै तहको नेता हो । नेता विवेकी हुनुपर्छ र विवेकको प्रयोग गर्नुपर्छ भन्ने कुराको सामान्य मान्यतालाई आत्मसाथ गर्न नसके पार्टी माथि पुग्न सक्दैन।

कांग्रेस एउटा दल मात्रै होइन, सिंगो मुलुकको भविश्य हो। संक्रमित कांग्रेस इतरको राजनीतिकाबीच कांग्रेसमा जनताले संभावना देखेका छन। त्यसको विश्वासलाई टिकाउन र जगाउन सक्ने नेतृत्व बन्न सकेन भने कोही आफ्नो व्यक्तिगत स्वार्थपुर्तिको लागि नेतृत्वमा पुग्नु केवल नेतृत्वको लिनको लागि मात्र हो त्यसबाट परिवर्तनको कल्पना गर्न सकिन्न। जय नेपाल ।