
काठमाडौं, १० कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा ३ खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आवको सो अबधिमा ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।
भन्सार विभागद्वारा जारी चालू आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भइ ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो । तथ्याङ्कानुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३: ११.९७ छ ।
सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ३१ अर्ब ४ करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आवमा ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजारको निर्यात भएको छ ।
चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो । चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।
डिजेल धेरै आयात
विभागको तथ्याङ्कानुसार तीन महिनामा रु २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार बराबरको डिजेल आयात भएको छ जुन आयातमध्येकै बढी हो । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनः निर्यात गर्दै आएका छन् ।
चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल रु २० अर्ब ६० करोड ६० लाख ५१ हजार मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ । त्यस्तै चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन रु १७ अर्ब १७ करोड ७१ लाख ८० हजार, पाम आयल रु १३ अर्ब चार करोड ५३ लाख ८६ हजार र पेट्रोल रु १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजारको आयात भएको छ ।
भटमासको तेल बढी निर्यात
नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागकोे तथ्याङ्कानुसार स्वदेबाट रु २२ अर्ब दुई करोड ६८ लाख ५२ हजारको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेका छन् । सबैभन्दा बढी निर्यात हुने वस्तुको दोस्रा नम्बरमा कच्चा पाम तेल र तेस्रोमा प्रशोधित पाम तेल छन् ।
सार्वजनिक विवरणानुसार चालू आवको पहिलो तीन महिनामा रु आठ अर्ब ४५ करोड ९८ लाख ३१ हजारको कच्चा पाम तेल र रु पाँच अर्ब पाँच करोड ४८ लाख ९८ हजारको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ । त्यस्तै चालू आवको गत तीन महिनामा लगभग रु दुई अर्ब २४ करोड ७६ लाख ६६ हजार बराबरको ऊनीको गलैंँचा र झण्डै रु एक अर्ब ८७ करोड ५५ लाख ६९ हजार बराबरको जुटका बुनिएका कपडा तथा अन्य कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




