बैंकर्स संघको नयाँ कार्यसमिति : अध्यक्षमा उपाध्याय, उपाध्यक्षमा केसी

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमिति अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकतृ अनिल उपाध्याय चयन भएका छन् । संघको उपाध्यक्षमा भने सुनिल केसी चयन भएका छन् । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

उपाध्यक्षमा अशोक शेरचन पनि आकांक्षी भएपनि सर्वसम्मत रुपमा केसी चयन भएका हुन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । उपाध्याय यसअघि संघको उपाध्यक्ष थिए ।

संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त थियो ।

सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।

अब संघको सदस्यका रूपमा लक्ष्मी बैंकका सीईओ अजय बिक्रम शाह, मेघा बैंककी अनुपमा खुञ्जेली, नेपाल एसबीआईका लिपकुमार डे, नेपाल बैंकका कृष्ण अधिकारी, एनआईसी एसियाका रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सन्तोष अधिकारी र सनराइज बैंकका सुमन शर्माले काम गर्नेछन्। सल्लाहकारमा अनिल केशरी शाह र ज्ञानेन्द्र ढुंगाना चयन भएका छन् ।