पुस २ देखि ४ गतेसम्म चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा उक्त प्रदर्शनी हुने भएको हो ।

प्रदर्शनी मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीन दिनसम्म हुने भएको छ ।

लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रको सहभागिता हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित २०० बढी स्टलहरू राखिने भएको छ ।

लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा निःशुल्क स्टल राखिने भएको छ । प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरूलाई पुरस्कार दिईने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरूको समेत प्रदर्शनी हुने जानकारी दिईएको छ ।

परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले औद्योगिक प्रवद्र्धन, नवीनप्रविधि हस्तान्तरण र पर्यटन प्रवद्र्धनका लागि प्रदर्शनी महत्वपूर्ण हुने बताए ।

लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्रका निर्देशक ऋषिराम पंगेनीले सरकारले निजी क्षेत्रसँग मिलेर उद्यमशिलताको क्षेत्रमा काम गरिरहेको बताए ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनीमा हुने नयाँ प्रविधिहरूले उद्योगीहरुमा र उद्यमशिल बन्न चाहिरहेकाहरुको लागि महत्वकाे हुने बताए ।