अर्थमन्त्री शर्माले चासो लिएपछि शेयर बजारमा छायो हरियाली

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ कात्तिक । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार झण्डै एक सातापछि शेयर बजारमा हरियाली छाएको छ । यसरी हरियाली छाएपछि अब उकालो चढ्लाकि भन्ने लख काट्न थालिएको छ । आज छाएको हरियालीले लगानीकर्तामा अब शेयर बजार सुध्रिने आशा जगाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधानका बारेमा छलफल गरेपछि हरियाली छाएको छ ।

शर्माले यही बिषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि छलफल गरेका थिए । त्यसपछि राष्ट्र बैंकले ब्याजदर निर्धारण विधिबारे नयाँ निर्देशन जारी गरेको थियो । जसको कारण भोलिपल्टै आज शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९८ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ४.१० अंकले बढेर ५०६.५४ विन्दुमा पुगेको छ ।

कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । ८६ लाख ३६ हजार ६३६ कित्ता शेयरको कारोबारबाट ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ । बैंकिङतर्फ ०.०५ प्रतिशतले बढेको छ । व्यापारतर्फ १.८३ प्रतिशत, होटल तथा पर्यटनतर्फ १.८१ प्रतिशत, विकास बैंकतर्फ २.६३ प्रतिशतले बढेको छ ।

यस्तै हाइड्रोतर्फ १.६७ प्रतिशत, फाइनान्सतर्फ २.३ प्रतिशत, नीर्जिवन बीमातर्फ १.७४ प्रतिशत, उत्पादनतर्फ १.७१ प्रतिशत, अन्यतर्फ ०.९८ प्रतिशत, माइक्रोफाइनान्सतर्फ १.२१ प्रतिशत, जीवन बीमातर्फ ०.७५ प्रतिशत, म्युचुअल फण्डतर्फ ०.२१ प्रतिशत र लगानी उपसमूहतर्फ १.९६ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ३५ करोड ४६ लाख ४० हजा। ८२३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।