एनबी बैंकको २७ औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ६ जना निर्वाचित

-



     सफल आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ३ मंसिर। नेपाल बंगलादेश बैंक लिमिटेडको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बैंकको बिहीबार सम्पन्न वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका हुन्।

उक्त निर्वाचनमा संस्थापक समूहबाट एआरएम नजमुस शकिब, एम शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएका छन् । निर्वाचित सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ। 

सोही सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको कुल १५.५ प्रतिशत लाभांश पारित गरेको छ। जसमा सेयरधनीले १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश पाउने छन्। हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।