
काठमाडौं, ५ मंसिर । राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढेको छ । यही मङ्सिर ३ गतेदेखि सुरु भएको नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगितामा राष्ट्रिय अभिलेखालयले पनि एउटा कक्ष लिएर ऐतिहासिक अभिलेखका सामग्री प्रदर्शनीमा राखेको हो ।
प्रदर्शनीमा १५औँ शताब्दीमा लेखिएको भागवतपुराण, नेपाल संवत् २९० मा लेखिएको शिवधर्म ग्रन्थको गाताचित्रलगायत सामग्री विशेष आकर्षणका रुपमा रहेका छन् । शिवधर्म ग्रन्थको गाताचित्र चोरी भई अमेरिका पुगेकामा सन् २०१३ मा नेपाललाई फिर्ता गरिएको थियो । नेपाल सम्वत् ७८७ मा मैथिली लिपिमा लेखिएको पौराणिक ग्रन्थमा रहेको गाताचित्र, नेपाल संवत् ८३८ को योग विषयको सिद्धसिद्धान्तपद्धति पुस्तकको गाताचित्रलगायत महत्वपूर्ण दस्तावेज प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा अभिलेखालयले प्रकाशन गरेका पुस्तक, वार्षिक मुखपत्र अभिलेखका विभिन्न अङ्क बिक्रीमा समेत राखिएको निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिनुभयो । प्रदर्शनीमा ऐतिहासिक अभिलेख हेर्ने र पुस्तक किन्न अवलोकनकर्ताको रुचि बढेको पाइएको उहाँले सुनाउनुभयो । आजसम्म चल्ने व्यापार मेलामा तीन लाखभन्दा बढीले अवलोकन गरिसकेको महासङ्घले जनाएको छ । आज बेलुकीसम्म पाँच लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलामा नेपाली मौलिक हस्तकलाका सामग्री खरिदमा पनि अवलोकनकर्ताको रुचि बढेको पाइएको छ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेकाले पनि यस वर्ष मेलामा अवलोकनकर्ता बढी आएका छन् । मेलामा हस्तकलाका रु पाँच करोडभन्दा बढीको सामग्री बिक्री हुने महासङ्घको अनुमान छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




