
काठमाडौं, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत रु एक खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको छ । यस्तै स्थायी तरलता सुविधामार्फत रु आठ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् ।
केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनीरहेका छन् । गत कात्तिक मसान्तमा रु ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा रु ४२ खर्ब २६ अर्बमा झरेको थियो । यस्तै गत कात्तिक मसान्तसम्म रु ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकोमा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर रु ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ ।
यस आधारमा तीन दिनमा नै निक्षेप रु सात अर्बले घटेको देखिन्छ भने रु सात अर्बले नै कर्जा लगानी भएको थियो । गत साउन मसान्तमा वाणिज्य बैंकमा रु ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला रु ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो । गत भदौ मसान्तसम्म रु ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा रु ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो । असोज मसान्तसम्म रु ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने रु ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो ।
निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मकरुपमा वृद्धि नभएका कारणले निक्षेपमा चाप परेको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै यस अवधिमा निक्षेप सङ्कलन उपकरणमार्फत् रु ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत् रु २८ अर्ब ३५ करोड गरी कुल रु ६० अर्ब तरलता प्रशोचन गरिएको उल्लेख गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् रु ६० अर्ब तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी रु २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी रु एक खर्ब १४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको थियो ।
केन्द्रीय बैंकका अनुसार गत असार मसान्तको तुलनामा गत असोज मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.९ प्रतिशतले अवमूल्यन भई प्रतिअमेरिकी डलर खरिद विनिमय दर रु १२०.१२ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.८ प्रतिशतले अधिमूल्यन भएको थियो ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




