ग्लोबल आइएमई लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न, २८ प्रतिशत लाभांश पारित

-



     सफल आवाज    
     मंसिर २८ गते २०७८ मा प्रकाशित



पाेखरा, २८ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा मंगलबार होटल पोखरा ग्राण्ड, कास्कीमा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७७/०७८ को कुल मुनाफाबाट संस्थाले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैँया र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैँया पुग्ने बताइएको छ ।

वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए । उपस्थित सम्पूर्ण महानुभावहरुलाई संचालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।

साधारणसभामा वित्तीय संस्थाको संचालक समितिको तर्फबाट आर्थिक बर्ष २०७७/०७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बुद्धि अकेलाले सम्पूर्ण शेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफलतापूर्वक सम्पन्न गराईदिनु भएकोमा धन्यवाद दिएका थिए ।

वित्तीय संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ भने निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको जनाइएको छ ।