
काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको चौमासिक समीक्षामा कर्जा तथा वित्तीय क्षेत्रसम्बन्धी व्यवस्थामा लगानी स्वीकृत गरेको छ । सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालू आवको चार महिनामा १२० अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ । यस अवधिमा एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २०५ अर्ब दुई करोड रुपैयाँ कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको विवरणअनुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषि तथा पशुपन्छी व्यवसायमा ५५ हजार ११६ ऋणीलाई १३० अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । त्यस्तै महिला उद्यमशील कर्जाअन्तर्गत ७६ हजार २० महिला उद्यमीलाई ७१ अर्ब १५ करोड कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ७९४ ऋणीको तीन अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन त्यस क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि यस अवधिसम्म एक अर्ब ७ करोड स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
१२ खर्ब पुग्यो अन्तर-बैंक कारोबार
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा अन्तर बैंक कारोबार १२ खर्ब नाघेको छ । यस अवधिमा वाणिज्य बैंकहरुको १० खर्ब ४३ अर्ब २२ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को एक खर्ब ५८ अर्ब ४० करोड गरी कुल १२ खर्ब एक अर्ब ६२ करोडको अन्तर-बैंक कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ७१ अर्ब ८८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको ६१ अर्ब २० करोड गरी कुल १३३ अर्ब ८ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो ।
ट्रेजरी बीलको औसत ब्याजदर ४.८१ प्रतिशत
गत वर्षको पहिलो चौमासिकमा ९१-दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ०.७९ प्रतिशत रहेकोमा चालू आवको सोही अवधीमा ४.८१ प्रतिशत पुगेको छ ।
त्यस्तै वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर गत वर्ष ०.१४ प्रतिशत रहेकोमा चालू आवमा ४.९६ प्रतिशत पुगेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर चालू आवको पहिलो चौमासिकसम्म ४.९६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंंकहरुको औसत आधारदर पनि झिनो अंकले बढेको छ । गत आवको तुलनामा चालू आवमा वाणिज्य बैंकहरुको औसत आधारदर ०.७ प्रतिशतले बढेको हो । गत आवको पहिलो चौमासिकमा ७.५७ प्रतिशत रहेकोमा चालू आवको सोही अवधीमा ७.८२ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पनि करिब ४ प्रतिशतले बढेको छ । गत आवमा निक्षेपको भारित औसत ब्याजदर ५.३१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.५२ प्रतिशत थियो भने चालू आवमा निक्षेपको ५.८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.०२ प्रतिशत पुगेको छ ।
गाभिए २३७ बैंक तथा वित्तीय संस्था
वित्तीय स्थायित्व सुदृढीकरण गर्नका लागि वित्तीय संस्थाहरु गाभिने प्रक्रियाअनुसार अहिलेसम्म २३७ बैंक तथा वित्तीय संस्था गाभिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् चालू आवको पहिलो चौमासिकसम्म २३७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । राष्ट्र बैंकका अनुसार गाभिएकामध्ये १७६ संस्थाहरुको इजाजत खारेज भएर ६१ बैंक तथा वित्तीय संस्थाहरु कायम भएका छन् ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




