वातावरण र कोभिड-१९

-


     डा.रमेशराज पन्त    
     पौष ८ गते २०७८ मा प्रकाशित


काठमाडौं, ८ पुस । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण मानव तथा वातावरणीय स्वास्थ्यमा प्रत्यक्ष असरहरू देखापरेका छन् । विशेषगरी कोरोना भाइरसको संक्रमणबाट बच्न विश्वका विभिन्न ठाउँमा व्यापक रूपमा गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिमा प्रत्यक्ष नकारात्मक असर गरेको छ । तर, विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण वातावरणीय अवस्थामा भने सुधार आएको उदाहरणहरू विश्वभरबाट प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको पाइन्छ । जस्तै, हावाको गुणस्तरमा सुधार, प्रदूषित जलीय पारिस्थितिक प्रणालीमा सुधार, माटोको गुणस्तरमा सुधार, ध्वनिको गुणस्तरमा सुधारलगायत थुप्रै पारिस्थितिक प्रणालीहरूमा गुणात्मक रूपमा वातावरणीय सुधारहरू भएको देखिएको छ ।

उद्योगधन्दा बन्द हुँदा हरित गृह, ग्यासहरूको उत्सर्जनमा पनि कमी आएको र पर्यटकहरूको अत्यधिक चापबाट हुने स्रोतहरूको अति दोहन हुनबाट समेत जोगिएको अनुमान गरिएको छ । वातावरणीय सन्तुुलन प्राप्त भएको भनिरहँदा विकास र वातावरणबीच हुनैपर्ने अन्तर सम्बन्धलाई भने कोभिडले असन्तुलित बनाइदिएको छ । यस लेखमार्फत वातावरण र कोभिड–१९ बहुआयामीक पक्षहरूलाई केलाउने प्रयास गरिएको छ । यसले दिगो विकास र सन्तुलित वातावरणका लागि आवश्यक पहल कदमी लिनलाई योगदान पु¥याउन सक्ने विश्वास लिइएको छ ।

परिचय

कोरोना भाइरस (कोभिड–१९) सबैभन्दा पहिले चीनको वुहान सहरबाट सन् २०१९ को डिसेम्बर अन्त्यबाट फैलिएको थियो । कोरोना भाइरस पत्ता लागेको केही साताभित्र विश्व स्वास्थ्य संगठनले महामारी घोषणा ग¥यो । कोभिड–१९ व्यक्तिबाट व्यक्तिमा नाक, मुख र आँखालगायतबाट खोकी, हाच्छ्युँ र कुराकानीका माध्यमबाट संक्रमण हुने पुष्टि भयो । कोभिडका कारण ज्वरो आउने, रुघाखोकी लाग्ने, खाना खान मन नलाग्ने, थकान महसुस हुने, स्वाद तथा गन्ध हराउने र असर बढ्दै गएमा रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा असर परी बिरामीको मृत्युसमेत हुन सक्ने देखिएको छ । अहिले कोभिड रोकथामका लागि विश्वभर विभिन्न प्रकारका खोपहरू आइरहेका छन् र खोपका कारण मृत्यु संख्या घटाउन सफलता पाइरहेको अनुमान गरिएको छ ।

कोभिड रोकथामका लागि सरकारी तवरबाट सुरु गरिएको बन्दाबन्दी, मुखमा मास्क लगाउने, हातमा पञ्जा लगाउने, हात साबुनपानीले धुने, सामाजिक÷भौतिक दूरी कायम राख्ने व्यवस्था विश्वव्यापी रूपमा लागु भए र भइरहेका छन् । विशेषगरी विद्यालय, विश्वविद्यालय, सभा–सम्मेलन, भेला, गोष्ठीलगायत भिड हुने अन्य क्षेत्रहरू आंशिक वा पूरै बन्द भएका कारण कोभिड–१९ फैलिनबाट रोक्न केही हदसम्म सफल भएको दाबी गरिँदै आएको छ । लगभग एक वर्षभन्दा बढी समयदेखि मानिसहरूलाई घरमै बस्ने र बाहिर निस्कनै पर्ने भए सामाजिक दूरी कायम राखी सुरक्षा मापदण्डहरू पालन गर्न अभिप्रेरित गरिएको छ ।

कोभिडबाट विश्वभरका लगभग आधा जनसंख्या प्रत्यक्ष प्रभावित भएको पाइन्छ । खासगरी बन्दाबन्दीका कारण वातावरणलाई प्रत्यक्ष र परोक्ष रूपमा सकारात्मक र नकारात्मक असरहरू परेको देखिन्छ । उदाहरणका लागि हावा, पानी, माटो, ध्वनि प्रदूषणमा विश्वभर कमी आएर पारिस्थितिक प्रणालीहरूको गुणस्तरमा व्यापक सुधार आएको अनुमान छ । अर्कोतिर मेडिकल सामग्रीहरू, व्यक्तिगत स्वास्थ्य सामग्रीहरू (मास्क, पञ्जा, स्यानिटाइजरलगायत) को अत्यधिक प्रयोगले वातावरणलाई नकारात्मक असर पारेको देखिन्छ । कोभिडका कारण विकास निर्माणका कामसमेत प्रभावित भएको छ । अतः यस आलेखमार्फत वातावरण, विकास र कोभिड–१९ का असरहरूको अन्तरसम्बन्धको विश्लेषण गरी वातावरणीय सन्तुलन कायम राख्दै दिगो विकासको कार्यलाई अगाडि बढाउन कोभिड १९ ले सिकाएका पाठहरूको विश्लेषणसहित भविष्यमा अपनाउन सकिने रणनीतिहरूबारे चर्चा गरिएको छ । कोभिड–१९ को वातावरण तथा मानव स्वास्थ्यमा पारेका असरहरू निम्नानुसार उल्लेख गरिएको छ ।

हावा प्रदूषणमा कमी

विश्वभर उद्योगधन्दा, कलकारखाना, यातायातलगायत वायु प्रदूषण उत्सर्जन गर्ने क्रियाकलाप कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले हरितगृह ग्यासलगायत अन्य वायुप्रदूषण गराउने ग्यासमा कमी आएको छ । हावाको प्रदूषण विशेषगरी सहरी क्षेत्रका साथै विश्वभरै सुधार आएको छ । उदाहरणका लागि न्युयोर्क, नयाँदिल्ली, बेइजिङ, काठमाडौंलगायत सहरहरूमा हावा प्रदूषण कोभिड–१९ सुुरु हुुनुुभन्दा एक वर्षअगाडि सँग तुलना गर्ने हो भने २० देखि ५० प्रतिशत कम भएको तथ्यांकहरूले देखाएको छ । यसैगरी युरोपियन वातावरणीय एजेन्सीले प्रकाशित गरेको एक प्रतिवेदनमा ‘एनओ–२’ उत्सर्जन युरोपियन देशहरूमा ३०–६० प्रतिशत कम भएको देखाएको छ । यसैगरी नयाँदिल्ली र काठमाडौंमा ‘पीएम–२.५’को मात्रा बन्दाबन्दीको समयमा ६०–७० प्रतिशत कम भएको देखाएको छ । काठमाडौंमा ‘पीएम–१०’को मात्रामा पनि लगभग ५० प्रतिशत कमी आएको देखिन्छ ।

त्यसैगरी हवाई उडानमा आएको कमीले हरितगृह ग्यासहरूको उत्सर्जनमा विश्वभर कमी आएको छ । यसअवधिमा धेरैजसो देशहरूमा आन्तरिक र बाह्य उडानहरूमा २० देखि ७० प्रतिशत कमी आएको थियो । यसैगरी बन्दाबन्दीका कारण स्थलगत यातायातमा पनि व्यापक कटौती भएको छ । यसबाट जीवहरूमा आधारित ऊर्जाका स्रोत (फोसिल फ्युल वेस्ड इनर्जी रिसोर्सेस सच् एज् कोल, आयल एन्ड नेचुुरल ग्यास) हरूको प्रयोगमा व्यापक कमी आएको छ । एक अध्ययनअनुसार विश्वभर ४–२५ प्रतिशतसम्म कार्बनडाइअक्साइड (सीओ–२) उत्सर्जनमा कमी आएको छ ।

पानी प्रदूषणमा कमी

नदीनाला, तालतलैया तथा अन्य पानीका स्रोतहरूको प्रदूषण विश्वभर एक प्रमुख वातावरणीय समस्याका रूपमा छ । विशेषगरी सतहको पानीका स्रोतहरूको प्रदूषण सहरी क्षेत्रमा बढी छ । तर, कोभिड–१९ का कारण जारी बन्दाबन्दीले प्रदूषित पानीका स्रोतहरू, नदीनाला र तालतलैया विस्तारै पुनःस्थापित (रि–स्टोर) भएर पानीको गुणस्तरमा गुणात्मक सुधार आएको छ ।

काठमाडौंको मध्यभाग भई बग्ने बागमती तथा यसका शाखा नदीमा बन्दाबन्दीको समयमा पानीको गुणस्तरमा निकै सुधार आएको देखिएको छ । २०७७ को वर्षाको समयमा बागमतीको पानीको गुणस्तरमा विशेषगरी ‘डिस्सल्भ्ड अक्सिजन’ मा १.५ गुणा बढोत्तरी भएको छ भने ‘बायोलोकिल/केमिकल अक्सिजन डिमान्ड’ मा २०७६ को तुलनामा क्रमशः १.५ र १.९ गुणा कमी आएको छ । माथि उल्लेखित परिणामले पनि पानीको गुणस्तरमा निकै सुधार भएको देखाउँछ । उद्योगधन्दा, कलकारखाना, यातायात, शैक्षिक संस्थालगायत प्रतिष्ठानहरू बन्द हुनु र ६–८ लाख मानिस काठमाडौं उपत्यका छाडेर बाहिर जाँदा व्यापक सुधार आएको मान्न सकिन्छ । त्यसैगरी भारतको उत्तराखण्ड क्षेत्र भई बग्ने गंगा नदीको हरिद्वार क्षेत्रमा पनि बन्दाबन्दीको समयमा पानीको गुणस्तरमा निकै सुधार आएको थियो ।

ध्वनि प्रदूषणमा कमी

ध्वनि प्रदूषण पनि एक प्रमुख वातावरणीय समस्या हो । विशेषगरी सहरी क्षेत्रमा बढ्दो जनघनत्व, अव्यवस्थित बसोबास, यातायात, हवाई क्षेत्रलगायतले ध्वनि प्रदूषण बढाएर प्राकृतिक वातावरणीय सन्तुलनमा ह्रास ल्याएको छ । तर, कोभिड १९ का कारण भएको बन्दाबन्दीमा हवाई उडानहरू र स्थलगत सवारीसाधनको प्रयोगमा पनि २० देखि ५० प्रतिशतसम्म कमी आएको छ । उता, उद्योगधन्दा कलकारखाना पनि आंशिक वा पूर्ण रूपमा बन्द हुँदा ध्वनि प्रदूषणको मात्रा गुणात्मक रूपमा घटेको छ । एक अध्ययनअनुसार भारतको राजधानी नयाँदिल्लीमा ध्वनि प्रदूषण बन्दाबन्दीको समयमा ४०–५० प्रतिशत घटेको छ । त्यसैगरी जर्मनीमा हवाई उडान ९० प्रतिशतले कटौती भएकाले त्यहाँ ध्वनि प्रंदूषणको समस्यामा व्यापक सुधार आएको प्रतिवेदन सार्वजनिक भएको छ । खासगरी रातिको समयमा ध्वनि ३०–४० डी.बी.ए.सम्म भए चराहरू कराएको आवाज सुनिन्छ र बन्दाबन्दीका समयमा धेरैजसो सहरी क्षेत्रभित्र सो दायरामा ध्वनिको मात्रा कायम भएको देखिएको छ ।

बायोमेडिकल फोहोर बढ्नु

हावा, पानी र ध्वनि प्रदूषण कोभिड–१९ को बन्दाबन्दीका कारण घटे पनि बायोमेडिकल फोहोरहरूको मात्रा बढ्दा वातावरणलाई प्रत्यक्ष रूपमा नकारात्मक असर पारेको देखिन्छ । विशेषगरी यातायातका साधनमा बन्देज लगाएकाले फोहोरमैलालाई गन्तव्यसम्म पु¥याउन समस्या देखिएको छ ।

त्यसैगरी कोभिडको परीक्षण गर्ने, उपचार गर्ने र मृतकहरूको पार्थिव शरीर व्यवस्थापन कार्यमा थुप्रै मेडिकल सामग्रीहरूको प्रयोग भएकाले सङ्कात्मक र बायोमेडिकल फोहोरमैला ठूलो मात्रामा बढेको देखिएको छ । उदाहरणका लागि चीनको वुहान सहर जहाँबाट कोभिड–१९ को भाइरस विश्वभर फैलिएको अनुमान गरिएको छ, त्यसमा प्रतिदिन १९० टन यस्तो फोहोरमैला बढेको एक तथ्यांकले देखएको छ । यसैगरी भारतको अहमदावादमा बन्दाबन्दीको समयमा लगभग ५० प्रतिशत फोहोरमैलामा बढोत्तरी भएको छ । काठमाडौं, ढाका, मनिला, दिल्लीलगायत सहरहरूमा मेडिकल फोहोरमैलामा गुणात्मक बढोत्तरी भएको छ । यसैगरी निडल, सिरिन्ज, बेन्डेज, मास्क, ग्लोभ्स र समयअवधि सकिएका औषधिहरूको राम्रोसँग व्यवस्थापन गर्न नसक्नाले बन्दाबन्दीको समयमा थुप्रै वातावरणीय तथा सामुदायिक स्वास्थ्य–समस्याहरू पैदा भएका छन् ।

कोभिडको संक्रमणबाट बच्न प्रयोग गरिने ‘पसर्नल प्रोटेक्टिभ इक्विप्मेन्ट्स’ हरूको अत्यधिक प्रयोग हुने र तिनीहरूको वातावरणमैत्री तरिकाले विसर्जन नहुँदा समस्याहरू देखिएका छन् । त्यसैगरी अनुहार छोप्ने मास्क र अन्य धेरै ‘सेफ्टी इक्विप्मेन्ट्स’ हरूमा माइक्रो प्लास्टिकहरूको अत्यधिक प्रयोग हुँदा वातावरणीय क्षेत्रलाई दीर्घकालीन असर पु¥याइरहेको छ । जस्तै, ‘एन–९५’ मास्कमा पोलिप्रोप्ल्नि’को प्रयोग भएको देखिन्छ ।

बन्दाबन्दीका कारण अनलाइन सपिङ र खाने वस्तुसमेत अनलाइनबाट मगाउने प्रवृत्तिले घरायसी फोहोरमैला बढ्दै गएको छ । यस्ता फोहोरको रामोसँग व्यवस्थापन हुन नसक्दा थुप्रै वातावरणीय समस्याहरू झेल्नुुपर्ने स्थिति आएको छ ।

अन्य वातावरणीय असर

कोभिड भाइरसको विश्वव्यापी संक्रमणबाट लगभग विश्वको आधाभन्दा बढी जनसंख्या लामो समय बन्दाबन्दीमा बस्न बाध्य भए । खुलेका कतिपय संघ–संस्थाहरूमा व्यापक ‘डिस्इन्फेक्ट्यान्ट्स’हरूको प्रयोगले ‘नन्–टार्गेट स्पेसिज्’हरूलाई असर पर्ने, खाद्यवस्तुहरूमा पनि यस्ता रासायनिक पदार्थहरू पर्न सक्ने अवस्था सिर्जना भएको छ । कोभिडकालमा विश्वभर ‘क्लोराइन’ बढेको देखिएको छ । सहरी क्षेत्र विशेषगरी मन्दिर र खुला क्षेत्रका जीवजन्तुलाई मानवीय आवतजावत कम भएकाले खाद्य पदार्थको अभाव (जस्तै पशुपति क्षेत्रका बाँदर) भएको देखिन्छ ।

कोभिड–१९ तथा सम्भावित दिगो विकास रणनीतिहरू

कोभिडका कारण विश्वव्यापी रूपमा ठूलो धनजनको क्षति भएको छ । अहिलेको संकटबाट पाठ सिकेर सम्पूर्ण मानवजगत्को बृहत्तर हितका लागि रणनीतिहरू बनाउनुपर्ने देखिएको छ । सारा विश्व समुदाय अहिले कोरोना भाइरसविरुद्ध लडिरहेकाले आगामी दिनहरूमा दीर्घकालीन विकास निर्माणका योजनाहरू बनाउँदा के कसरी अगाडि बढ्दा दिगो विकासको अवधारणालाई व्यवहारमा लागु गर्न सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ । ती विषयहरू निम्न हुनसक्छन् ।

दिगो औद्योगिकीकरण

औद्योगिक विकास सामाजिक-आर्थिक विकासको मेरुदण्ड हो । त्यसैले दिगो औद्योगिक विकासको अवधारणालाई अगाडि बढाउँदा औद्योगिक क्षेत्रलाई वातावरणमैत्री बनाउन वैकल्पिक ऊर्जाको प्रयोग र औद्योगिक क्षेत्रलाई मानव बस्तीभन्दा निश्चित दूरीमा खोल्नेतर्फ ध्यान दिइनुुपर्छ ।

सार्वजनिक यातायात

सार्वजनिक यातायातको प्रयोगले हरितगृह ग्यासलगायत अन्य प्रदूषक तत्वहरूको उत्सर्जनमा कमी ल्याउने भएकाले मानव तथा वातावरणीय स्वास्थ्यमा सकारात्मक असर गर्छ ।

वैकल्पिक ऊर्जाका साधनहरूको प्रयोग

वैकल्पिक ऊर्जाहरूको प्रयोग जस्तै सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युतलगायत ऊर्जाहरूको प्रयोग गरी जिवास्ममा आधारित ऊर्जाका स्रोतहरू घटाउनुपर्ने देखिन्छ ।

पुनःचक्रण पुनःप्रयोग

ठोस फोहोरमैलाको उचित व्यवस्थापनका लागि पुनःप्रयोग, पुनःचक्रणलगायत विधिहरूको प्रयोग गर्न सकिने पानी प्रदूषणलगायतलाई व्यवस्थित गर्न सकिन्छ ।

पर्यावरण

विश्वभर पर्यटन क्षेत्रलाई व्यवस्थित गरी आर्थिक विकासका कार्यलाई अगाडि बढाउन पर्या–पर्यटनको अवधारणालाई स्थानीय, प्रादेशिक तथा संघीय सरकारका योजनाहरूमा प्राथमिकतासाथ राख्नुपर्ने देखिन्छ ।

पारिस्थितिक प्रणालीहरूको पुनःस्थापना

विशेषगरी सहरी क्षेत्रका नदीनाला, ताल तलैया र अन्य क्षेत्र निकै प्रदूषित भइसकेकाले तिनीहरूको पुनःस्थापना गर्न पहल गर्नुपर्ने देखिन्छ ।

दैनिक व्यवहारमा परिवर्तन

मानिसहरूले स्रोत–साधनहरूको अत्यधिक दोहन गर्ने बानी हटाउनुपर्ने हुन्छ । त्यसका लागि स्थानीयस्तरमा पाइने खाद्यवस्तु अधिकतम प्रयोग गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।

अन्तर्राष्ट्रियस्तरमा सहकार्य

कोभिड–१९ को महत्वपूर्ण सन्देश भनेको वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रियजगत्ले मिलेर काम गर्नुपर्छ भन्ने नै हो । वातावरणीय संरक्षणका लागि आवश्यक नीति–नियमहरू बनाउनुपर्छ भने सहकार्यको मोडालिटीमा व्यापक सुधार गर्दै वातावरण संरक्षणलाई साझा मुद्दाका रूपमा अगाडि सार्नुपर्छ । नाफिजको वार्षिक जर्नल ‘अर्थचित्र’ बाट ।