महिना सकिएकाे पहिलाे साताभित्र कारोबार विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी काम गर्ने संस्थाहरुलाई महिनाको पहिलो साता नै सम्पूर्ण विवरण बुझाउन निर्देशन दिएको छ ।

बिहीबार नेपाल राष्ट्र बैंक (भुक्तानी प्रणाली विभाग)ले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०७८, अ.प्रा.निर्देशन नं. १०/०७८ को अनुसूची १०.१ मा रहेको व्यवस्था संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटीएम मेसिन रहेको स्थानको विवरण सञ्चालन भएको पहिलाे साता (७ दिन) भित्र सबै विवरण पठाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । कामु कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलका अनुसार शाखा रहित बैंकिङ केन्द्रमा रहेका ग्राहकहरु तथा विद्युतीय कार्डको प्रयोग, ई-बैंकिङ कारोबार, भुक्तानी सेवा प्रदायकको कारोबारसम्बन्धी विवरणलगायत महिना सकिएको एक सातामै राष्ट्र बैंकलाई विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाबमिलन, भुक्तानी प्रणाली सञ्चालक कारोबार, भुक्तानी सञ्चालकको सफल असफल कारोबार, भुक्तानी सेवा प्रदायकको एजेन्टसम्बन्धि विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबारसम्बन्धी विवरण र क्लियरिङ हाउसबाट भएका कारोबारका विवरणहरु महिना सकिएको एक साताभित्रमा राष्ट्र बैंकलाई पठाउनुपर्ने छ ।