बिमाको दररेट संशोधनप्रति निर्माण व्यवसायी र इपानको बिमती

-



     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ पुस । पुनर्बिमामा निर्देशिका, २०७८ मा बिमाको दररेट र शर्तको संशोधित व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएका छन् ।

दुवै संस्थाले आज संयुक्त विज्ञप्ति प्रकाशन गर्दै महासंघ र इप्पानले ज्ञापनपत्रमार्फत् उठाएका मागका बारेमा बिमा समितिको पुस १३ को पत्रमा कुनै पनि संशोधन नगरी भ्रम सिर्जना गरेको बताएका हुन् । माग सम्बोधन भएको भनी बिमा समितिबाट भ्रम फैलाएकोप्रति समेत महासंघका अध्यक्ष रवि सिंह र इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले संयुक्तरूपमा विरोध जनाएका छन् ।

दुई संस्थाले संयुक्त निर्धारण गरिएका विरोधका कार्यक्रमसमेत यथावत छ । समितिले बीमाको दररेट संशोधन गरेको भनिए पनि निर्माण आयोजनाको सम्झौता गर्दाको समयमा बिमा गर्दा बिमा कम्पनीले अत्यधिकरुपमा वृद्धि गरेको शुल्क यथावत् नै रहेको विज्ञप्तिमा उल्लेख छ । खरिद सम्झौता गर्दा बिमा गर्नुपर्ने प्राब्धानबमोजिम साविकमा बिमाको प्रिमियम शुल्क खुला बजार नीतिअनुसार कम्पनीले प्रतिस्पर्धा गर्दै आएका थिए । हाल समितिको समेत संलग्नतामा कार्टेलिङ गरी विगतको दररेटभन्दा पाँचदेखि आठ गुणा वृद्धि गरेर बढी शुल्क तिर्न बाध्य पारिएको निर्देशिकाको प्राब्धानमा संशोधन नभएको उल्लेख गरिएको छ ।

समितिले बिमा शुल्कको लागि न्युनतम तोकेको दररेटलाई खारेज गरी स्वच्छ प्रतिस्पर्धा हुने गरी अधिकतम दररेट कायम गरेर शुल्क लिने मापदण्ड कायम गर्न महासंघ र इपानबाट विभिन्न मितिमा पत्राचार गरी भएको पहलकदमीलाई बेवास्ता गरिएको आरोप लगाएको छ ।