चालू आवको साढे पाँच महिना : अझैं ल्याएन् २१ स्थानीय तहले बजेट

-



     सफल आवाज    
     पौष १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ पुस । चालू आर्थिक वर्षको साढे पाँच महिना बित्दा पनि २१ स्थानीय तहले बजेट ल्याएका छैनन् । ७५३ स्थानीय तहहरुमध्ये पुस १२ गतेसम्म ७३२ वटा स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार चाल् आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउन नसक्नेमा अधिकांश प्रदेश २ का स्थानीय तहहरु रहेका छन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अहिलेसम्म बजेट नल्याएका स्थानीयहरुमध्ये २० स्थानीय तह प्रदेश २ का रहेका छन् । त्यस्तै एउटा स्थानीय तह बागमती प्रदेशको रहेको छ ।

प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म बजेट नल्याउने स्थानीय तहहरुमा सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिराहाको कल्याणपुर नगरपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका, धनौजी गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाइ नगरपालिका र वृन्दावन नगरपालिका रहेका छन् ।

त्यस्तै बाराको सिम्रौनगढ नगरपालिका, विश्रामपुर गाउँपालिका, पर्साको पोखरिया नगरपालिका र धोविनी गाउँपालिकाले अहिलेसम्म बजेट ल्याएका छैनन् । त्यस्तै बागमती प्रदेशको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले बजेट नल्याएको उनले बताए । बाँकी पाँचवटा प्रदेशबाट सबै स्थानीय तहहरुले चालू आर्थिक वर्षको स्थानीय बजेट ल्याइसकेका छन् ।

कुल ७५३ स्थानीय तहहरुमध्ये अधिकतम् ९७.२१ प्रतिशत स्थानीय तहले चालू आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वार्षिक बजेट ल्याइसकेका छन् भने बाँकी २.७९ प्रतिशत मन्त्रालयले हालसम्म पनि बजेट ल्याउन नसकेको मन्त्रालयले जनाएको छ ।

कानुनअनुसार चालू आर्थिक वर्षको बजेट सघीय (केन्द्र) सरकारले जेठ १५ गतेसम्म, प्रदेश सरकारले असार १ गतेसम्म र स्थानीय सरकार स्थानीय तहले असार १० गतेभित्र चालू आर्थिक वर्षको अनुमानित आय व्ययसहितको बजेट सभामा पेस गर्नुपर्ने प्राबधान रहेको छ । तर, २१ स्थानीय तहले भने चालू आवको साढे पाँच महिना बित्दासमेत बजेट सार्वजनिक गर्न सकेका छैनन् ।