धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः आवेदन माग, ११ जनाले दिए निवेदन

-



     सफल आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ पुस । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्षको नियुक्तिका लागि पुनः आवेदन माग गरिएको छ ।

छनौट समिति बनाउन नमिल्ने भन्दै अघिल्लो समिति विघटन गरेपछि अध्यक्षका लागि ११ जनाले दिएको आवेदन रद्द भएको थियो । मन्त्रिपरिषद् बैठकले नयाँ छनोट समिति बनाएपछि पुनः प्रक्रिया सुरु भएको छ ।

नयाँ समितिको संयोजकमा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल चयन भएपछि धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि बाटो खुलेको हो । यसअघि छनौट समितिमा नै कसलाई राख्ने भन्नेबारेमा विवाद हुँदा सो समिति नै विघटन हुन पुगेको थियो । अहिले गठन गरेको समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र सरकारले तोकेको विज्ञ सदस्यको रुपमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष डा. जीवनाथ धिताल रहेका छन् ।

बोर्डको अध्यक्षका लागि चितवनका अनिल पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारी र बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईंले निवेदन दिएका छन् ।

त्यस्तै राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्व कार्यकारी निर्देशक सीताराम थपलिया, सेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अमगाईं, रमेश हमाल, अम्बिका शर्मा लामिछाने र कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्यले पनि बोर्डको अध्यक्षका लागि आवेदन दिएका छन् ।