थप २१६ जनामा कोरोना संक्रमण

-



     सफल आवाज    
     पौष १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ पुस । देशभर पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो ।

गत २४ घण्टामा २०९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै भाइरस संक्रमणमुक्त हुनेको संख्या आठ लाख १२ हजार ४१९ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको संख्या आठ लाख ८७ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ४८ लाख ७० हजार ३२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या आठ लाख ३१ हजार ६१९ पुगेको छ । कूलमा संक्रमणदर १७ प्रतिशत छ ।

कोभिड विरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार ८१२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या चार हजार ९७१ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । प्रतिशत १० लाख जनसंख्यामा मृत्युदर ३८१.७ रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको संख्या जम्मा १९ र आइसीयूमा ८३ जना रहेका छन् । होम आइसोलेसनमा चार हजार ७४७, संस्थागत आइसोलेशनमा २२४ रहेको छ । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली छन् ।

शून्य संक्रमित रहेका जिल्लामा सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा एक हजार चार, ललितपुर ५८९ र भक्तपुरमा ४९७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।