भारतमा ओमिक्रोन बढेपछि १५-१८ उमेर समूहलाई खोप लगाइँदै

-



     सफल आवाज    
     पौष २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० पुस । भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवा युवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका संक्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गरेका थिए ।

भारत सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाईन दर्ता गर्न माग गरेको थियो । सोही बमोजिम यहाँका करिब १२ लाख युवायुवतीहरुले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको छ । उता भारतको मध्यप्रदेशमा कोरोना भाइरस पछिल्ला दिनहरुमा निकै अनियन्त्रित रुपमा बढिरहेको बताइएको छ । नयाँ संक्रमितहरुको वृद्धि हेर्दा यहाँ कोरोना भाइरसले तेस्रो लहरको संकेत दिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

भारतको मध्यप्रदेश राज्यमा मात्र सोमबार मात्र २२१ जना ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन् । तर एक हप्ता अघिसम्म यहाँ ४२ जना मात्र ओमिक्रोन संक्रमित थिए । यहाँ गएको सात दिनभित्र मात्र नयाँ संक्रमितको संख्यामा ५०० प्रतिशतले वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले आगामी १० जनवरीदेखि हरेक दिन यस प्रदेशमा एक हजारभन्दा बढी ओमिक्रोनकै संक्रमितहरु आउने अनुमान गरिएको बताएका छन् । अहिलेसम्म यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे केही नयाँ निर्णय गरेको छैन । तर पनि यस विषयमा सरकारले विचार गर्न सक्ने पनि उनीहरुले जनाएका छन् ।