यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । साताको चौथो दिन बुधबार दुई कम्पनीका सेयरधनीहरुका लागि लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी तथा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीहरूकाे लागि लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको हो ।

लाभांश वितरण तथा साधारण सभाको प्रयोजनका लागि दुबै कम्पनीले बिहिबार बुक क्लोज गरिएको बताएका छन् । आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिनेछन् ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश पारित गर्न पुस २९ गते काठमाडौं डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा पूर्वान्ह ११ बजे २७औं साधारण सभा डाकेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेको ११ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ । जस्मा ७.७० प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांससहित ११ प्रतिशत रहेको छ ।

उता गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस २९ गते गुहेश्वरी भवन, ललितपुरमा पूर्वान्ह ११ बजे २०औं साधारण सभा आव्हान गरेको छ ।

सभाबाट कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांशसहित १०.५२६३ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ ।