उत्तर कोरियाद्वारा समुद्रमा अज्ञात मिसाइल प्रहार

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । उत्तर कोरियाले समुद्रमा मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस)का अनुसार उत्तर कोरियाले बालिस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने बताइएको छ ।

मिसाइल प्रहार गरेको जापानको कोस्ट गार्डले सबैभन्दा पहिले जानकारी दिएको थियो । संयुक्त राष्ट्रले उत्तर कोरियामाथि कुनै पनि बालिस्टिक या परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । यदि यो पुष्टि भयो भने उत्तर कोरियाको वर्षको पहिलो क्षेप्यास्त्र प्रहार हुनेछ ।

केही दिनअघि मात्र किम जोङ उनले कोरियाली प्रायद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणको कारण उत्तर कोरियाले आफ्नो रक्षा क्षमता मजबुत बनाउन जारी राख्ने बताएका थिए । गत वर्षको आफ्नो पार्टीको अन्तिम बैठकमा उनले सो कुरा बताएका थिए ।