तीन दिनसम्म लगातार उकालो लागेको नेप्से बुधबार फेरि ३० अंकले घट्यो

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । साताको पहिलो तीन दिनसम्म उकालो लागेको सेयर बजार पुनः ओरालो लागेको छ । आइतबारदेखि मंगलबारसम्म दोहोरो अंकले बढेको नेप्से बुधबार भने दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबारबाट बढ्न थालेको नेप्से परिसूचक सोमबार र मंगलबारसमेत दोहोरो अंकले बढेको थियो ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७५ अंकले घटेर दुई हजार ६४९.२० अंकमा झरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.६८ अंकले घटेर ४९७.०३ बिन्दुमा झरेको हो । नेप्से साताको पहिलो दिन आइतबार ६० अंकको सुधार आएको थियो । त्यस्तै सोमबार ३२ अंक र मंगलबार ६३ अंकले गरी तीन दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको थियो । मंगलबार ३० अंक घटेपछि साताको चार कारोबार १२५ बिन्दु उकालो लागेको छ ।

आज ३० अंकले बढेको नेप्सेमा चार अर्ब ६२ करोड रुपैयाँ बराबरको ९५ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृति १३ उपसमूहमध्ये हाइड्रोपावर र फाइनान्सबाहेक सबै उपसमूहमा रातो लागेको छ । कारोबार भने मंगलबारको तुलनामा केही सुधार भएको छ । आज हाईड्रोपावर अन्तर्गतको सेयर १४.०७ अंक र वित्ततर्फ २.११ अंकले बढेको छ ।

आज बैंकिङतर्फ २७.७९ अंक, व्यापार ५०.२६ अंक, होटल तथा पर्यटन ६९.६९ अंकले घटेको छ । त्यस्तै विकास बैंक ७९.८६, निर्जीवन बिमा २२८.०९, उत्पादनमुलक ५१.८६, अन्य ३.२, लघुवित्ततर्फ ११०.६६ अंक, जीवन बिमातर्फ ५६.९६ अंक, सामुहिक लगानी कोष ०.१५ अंक र लगानी उपसमूहतर्फ १.२९ अंकले घटेको नेप्सेले जनाएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको १८ करोड ७२ लाख ६२ हजार ३३१ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।