जनरल इन्स्योरेन्स पनि अब एनपीआइमा आबद्ध

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिं प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एलपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडिने निर्जीवन बिमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीसँग जोडी बिमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्‍याउने छ । यी सबै कारोबारहरु सोझै बिमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी एनपीआइ मा जोडिए पछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । एनपीआइ सँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अह्रान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जेनेरल इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बिमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

जनरल इन्स्योरेन्सलगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बिमा कम्पनीका बिमितहरुले आफ्नो बिमा प्रिमियम शूल्क अनलाइनमार्फत् कनेक्ट आइपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै एनपीआइ मा आबद्ध रहेका छन् ।