भारतमा थप ९० हजार ९२८ जना कोरोना सङ्क्रमित

-



     सफल आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित



नयाँदिल्ली २२ पुस । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३२५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ८५ हजार ४१० रहेको छ । गएको २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ४१ हजार ९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् ।

भारतमा कोरोना भाइरस निको हुने दर ९७.८१ प्रतिशत रहेको जनाइएको छ । भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।