नाइजेरियामा लुटेराहरूको आक्रमणमा परी २०० जनाले ज्यान गुमाए, हजारौं विस्थापित

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ पुस । लुटेराहरूको आक्रमणमा परी नाइजेरियामा निधन भएकाहरूको संख्या २०० भन्दा बढी पुगेको छ । हिंसात्मक घटनाका कारण अरू हजारौं नागरिक विस्थापित पनि भएको अधिकारीहरूले बताएका छन् ।

यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा बढीको निधन भएको दाबी गरिएको थियो । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ ।

स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन् । आक्रमणकारीका सयौं लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन् ।

आक्रमणकारीहरूले घरघरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनापछि आइतबार पहिलो प्रतिक्रिया दिँदै मानवीयता मामिलामन्त्री सादीया उमर फारौकले घटना अत्यन्त दुःखद् र दर्दनाक भएको बताएका छन् ।

घटनाका कारण १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । ‘विस्थापित भएका व्यक्तिहरूका बारेमा पनि सरकारले सोचिरहेको छ, सक्दो सहयोग सरकारले गर्नेछ,’ उनले भने । विस्थापित भएकाहरूलाई तत्काल आवश्यक पर्ने सामग्री र स्रोत साधनहरू पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंसक समूहले आम नागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनु परेको छ । सरकारले उनीहरूलाई आतंकवादी समूहको रूपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ । तर, हिंसात्मक घटनाहरू भने निरन्तर भइनै रहेका छन् ।