दोहोरो अंकले बढ्यो नेप्से, ७ अर्बभन्दा बढीको सेयर किनबेच

-



     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ पुस । साताको दोस्रो दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १९.४३ बिन्दुले बढेर दुई हजार ७८४.९५ बिन्दुमा प्रवेश गरेको हो । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज ३.१६ बिन्दुले बढेर ५२२.५३ बिन्दुमा उक्लेको छ ।

साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा उछाल थियो । आइतबार नेप्से परिसूचक ७३‍.१ बिन्दुले बढेर दुई हजार ७६५.४७ अंकमा प्रवेश गरेको थियो भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३.२१ बिन्दुले बढेर ५१९.३७ अंकमा प्रवेश गरेको थियो । आज २३६ कम्पनीको एक करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँमा किनबेच भएको छ ।

आइतबार पनि सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँमा किनबेच भएको थियो । आइतबार २३९ कम्पनीका एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज बैकिङ, होटल तथा पर्यटन र उत्पादनमुलक उपसमूहको कारोबारबाहेक सबै समूहको सेयरमा हरियाली देखिएको छ भने मध्ये भोटेकोशीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।