४९.१९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७२ करोड बढीको कारोबार

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजार उकालो लागेको छ । लगानीकर्ताहरु फाइनान्सतर्फ लागेका पाईएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.७७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.३४ अंकले बढेर ५२८.८७ विन्दुमा पुगेको छ ।

कुल २३२ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयरको खरिदबिक्रीबाट ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये दुई बाहेक सबैको सेयर बढेको छ । उनीहरुमध्ये सबैभन्दा बढी फाइनान्सतर्फ ६.१५ प्रतिशतले बृद्धि भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको १६ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक तथा मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जि नेपालले ३.५२ प्रतिशतले गुमाएको छ ।