भारतमा नेपाली उत्पादनकाे निर्यात बढ्यो, चीनमा घट्यो

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारको ग्राफ बढिरहेको छ । त्यसमा पनि आयातसँगै निर्यात पनि निकै बढेको देखिन्छ । चालू आवको पहिलो पाँच महिनामा मात्रै वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार चालू आवको पहिलो पाँच महिनामा एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारतसँग १३८ प्रतिशत र अन्य मुलुकतर्फ भएको निर्यात २८.५ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चीनतर्फको निर्यात भने गत आवको भन्दा १.४ प्रतिशतले घटेको छ ।

चीनमा निर्यात घट्नुमा भन्सार विभागका अधिकारी भने सजिलो जवाफ दिन्छन् । भन्सार विभागका निर्देशक पुण्डविक्रम खड्का भन्छन्, ‘चीनलाई चाहिने सामान लिन्छ । नचाहिने सामान लिदैन । लिएको बेलामा नेपालको निर्यात बढ्छ, नलिए घट्छ ।’ निर्देशक खड्काका अनुसार अहिले उत्तरी नाकाहरु दुई वर्षदेखि नै करिब ठप्प छन् । चीनसँगको अन्तर्राष्ट्रिय व्यापार नाकाबाट नभई अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने गरेको उनले बताए ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । चालू आव २०७८/७९ को पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ४४.६ प्रतिशत, चीनबाट ५७.८ प्रतिशत र अन्य मुलुकबाट १११.२ प्रतिशतले आयात वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट आयातमा वृद्धि भएको छ । चालू आवको पहिलो पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोड रुपैयाँ बराबरको भएको थियो ।

वैदेशिक व्यापारको संरचना

बृहत आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती ४७.०७ प्रतिशत र अन्तिम उपभोग्य वस्तुको अनुपात ५२.९१ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती ३१.८७ प्रतिशत, पुँजीगत ०.७६ प्रतिशत र अन्तिम उपभोग्य वस्तुको अनुपात ६७.३६ प्रतिशत रहेको थियो ।

अहिले कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.८ प्रतिशत, पुँजीगत वस्तुको १०.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१.६ प्रतिशत, १२.४ प्रतिशत र ३६.० प्रतिशत रहेका थिए ।

निर्यात-आयात मूल्य सूचकांक

वार्षिक विन्दुगत आधारमा मंसिर महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ११.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक १४.७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधीमा मंसिर महिनामा ३.८ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ मंसिर महिनामा ३.० प्रतिशतले घटेको छ । समीक्षा अवधिमा खुद सेवा आय ३८ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २३९.८ प्रतिशतले वृद्धि भई सात अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १०७.० प्रतिशतले वृद्धि भई २३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय १३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ११ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ९ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।