बतासको बचाउमा एफएनसीसीआइ, बिना प्रमाण व्यवसायीको चरित्रहत्या नगर्न आग्रह

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्र (बतास समूह) माथि एकतर्फी चरित्र हत्या भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले चिन्ता व्यक्त गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै एफएनसीसीआइले पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

महासंघले भनेको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आब्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ ।’

प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने तर, त्यसको सत्य तथ्य खोजी हुनुुपर्छ भन्ने महासंघको मान्यता रहेको जनाएको छ । बतास समूहले नारायणहिटी दरबारमा बनाएका संरचनाहरु सञ्चारमाध्यममा आएका समाचारकै भरमा स्पष्टिकरणको मौकासमेत नदिई भत्काइनु कदापी न्याय संगत नभएको महासंघले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने हाम्रो चिन्ता छ ।’ प्रमाण नजुर्टारै व्यवसायीमाथि एकतर्फीरुपमा विना प्रमाण प्रहार गर्नु न्याय संगत नभएको बताएको छ ।