आइएमएफद्वारा नेपाललाई ४६ अर्ब ७० करोड ऋण सहयोग

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ माघ । नेपाललाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले करिब ४७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार आइएमएफले नेपाललाई २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर) अर्थात् नेपाली रुपैयाँ ४६ अर्ब ७० करोड ऋण शून्य ब्याज दरमा स्वीकृत गरेको हो । यो ऋण सहायतामध्ये १३ अर्ब रुपैयाँ पहिलो किस्ता वापत एक हप्ताभित्रै प्राप्त हुनेछ । बाँकी रकम किस्ता किस्तामा नेपाल आउने अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विभिन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा गरिबी निवारणसम्बन्धि नेपालले लिएको सुधारका प्रयासलाई निरन्तरता दिन सहयोग गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालले आवश्यकता र प्राथामिकताका आधारमा बजेटमा समावेश गरेर खर्च गर्ने भएको छ । कोषसँग भएको छलफलमा चालू आर्थिक वर्षको बजेटमा उक्त रकमलाई बजेटको स्रोत कायम गरिनेछ ।