संघर्षशील पुष्पाको आशा लाग्दो भविष्य

-



     शशिकान्त न्यौपाने     
     माघ ३ गते २०७८ मा प्रकाशित



पोखरा, ३ माघ । राज्यको नजर नपर्ने बस्ती । सहाराबिहीन परिवार । परिवेशले नै निर्धारण गरेको कालो अवस्था । त्यसै परिवारमा जन्मिएकी हुन्, पुष्पा दुरा । पुष्पाको कुनै बेला सुन्दर सपनामाथि ‘बादल’ घेरिरहेको जस्तै थियो भाग्य । जता जादाँ पनि ठक्कर । समाजबाट जे गर्दा पनि असहयोग, दमन, तिरस्कार । यो अवस्थाबाट उठ्न उनको परिवारले निकै संघर्ष गर्नुपर्‍यो ।

‘मेहेनत गर्न चाहनेलाई मेहेनती मैदान नहुँदा उसले अन्तिममा भाग्यलाई दोष दिन्छ,’ भन्ने भनाई उनको परिवारमा लागू थियो । निरन्तरको संघर्षपछि बांगिएका भाग्य रेखालाई पनि चिर्दै सिधा पारेर उज्यालो दिशातिर लम्कँदै गरेको उनको परिवारको कथा रोचक छ ।

अहिले पुष्पाकाे परिवार लमजुङको सुन्दरबजार नगरपालिका–११ स्थित तुर्लङकोटमा बस्छन् । तुर्लङकोटमा चिटिक्क परेको बार्दलीसहितको घर, सुन्दर आगन, छेउमा धान कुट्ने मेसिनले नै परिचय दिन्छ, मेहनती परिवार ।

उद्यमी बनेकी पुष्पा अहिले बंगुरफर्म चलाउछिन् भने उनका श्रीमान् धान मिल चलाउँछन् । २०५० सालमा जन्मेकी पुष्पाले आधारभूत शिक्षामात्रै प्राप्त गरिन् । सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी पुष्पालाई परिवार चलाउन निकै कठिन हुन्थ्यो । जसो तसो गुजरा त चल्थ्यो तर, उनलाई भविष्यको चिन्ताले भने सताइरहन्थ्यो ।

सीप न शिक्षा नभएकाले उनको परिवारले सजिलै काम पाउने कुरै थिएन । छिमेकीबाट सहयोगको याचना गर्दा पनि नमिल्ने । धन बिना संसारै अँध्यारो छ भन्ने निचोड निकाल्दै उनको परिवार पनि उद्यमी बन्ने योजनाअनुरुप वित्तीय संस्थाको ढोकामा पुग्यो ।

पुष्पाले २०७१ को चैतमा उनले ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थासँग केही दिनको तालिम लिएर उद्यमका लागि ४० हजार रुपैयाँ कर्जा लिइन् र बंगुरपालन सुरु गरिन् ।

पहिलो पटकको व्यवसाय नाफामा गएपछि फेरि दुई लाख, पाँच लाख, आठ लाख कर्जा थप्दै व्यवसाय बढाइन् । अहिले उनको घर नजिकै ५ रोपनी बंगुरफर्म छ । फर्ममा साना ठूला गरी ३५ बटा बंगुर छन् । बिगत ७ वर्षदेखि ८ पटक कर्जा लिएर व्यवसायमा कर्जाको सदुपयोग गरेर पुष्पा परिवारले सुनौलो भविष्य पछ्याइरहेका छन् ।

‘मेरो परिश्रम देखेर मलाई आवश्यक परेको बखत कर्जा दिएर ग्लोबल आइएमईले व्यवसायको मालिक बनाएको छ । हाम्रा लागि सपनामा पनि नआउने ठाउँ काठमाडौंमा छोरालाई पढाइरहेकी छु । इलमीलाई सहयोग तथा सुझाव दिने संस्थालाई बिर्सन सकिन्न ।’ उनले भनिन् ।

पुष्पा अहिले आफू मात्रै उद्यमी छैनन् । उनका श्रीमानलाई समेत आशलाग्दो रोजगारी सिर्जना गरेकी छन् । अहिले पुष्पाको परिवारले घरमै बसेर ६०/७० हजार रुपैयाँ मासिक आम्दानी गरिरहेका छन् । अहिले उनीहरुले घर नजिकै एउटा फर्निचर उद्योग पनि सञ्चालनमा ल्याएका छन् । सो उद्योगमा चार जनालाई रोजगारीसमेत दिएका छन् ।