५ महिनामा फाइनान्सहरुकाे खुद नाफा ५५ करोड नाघ्याे, बेष्ट फाइनान्स बन्याे बढी कमाउने कम्पनी

-



     सफल आवाज    
     माघ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ माघ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनामा फाइनान्स कम्पनीहरुले ५५ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । १७ वटा फाइनान्स कम्पनीहरुमध्ये ११ कम्पनीहरु नाफामा गएका छन । ४ कम्पनीको नाफा न्युन र बाँकी दुई कम्पनी घाटामा गएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिना मंसिरसम्मको फाइनान्स कम्पनीहरुको नाफा हेर्दा सबैभन्दा माथि बेष्ट फाइनान्स रहेको छ । तथ्यांकअनुसार बेष्ट फाइनान्सले १२ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएर बढी कमाउने कम्पनी बनेकाे छ । बेष्टपछि गुडविल फाइनान्स कम्पनीले पनि ७ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । तथ्यांकअनुसार सो फाइनान्सले चालू आवको ५ महिनामा ७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको हो ।

बढी नाफा कमाउने फाइनान्सको तेस्रो नम्बरमा आइसीएफसी फाइनान्स कम्पनी परेकाे छ । सो कम्पनीले चालू आवको मंसिरसम्म ७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार आइसीएफसीपछि मन्जुश्री फाइनान्सले ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

जानकी फाइनान्स कम्पनीले चालू आवको ५ महिनाको अवधीमा ४ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको नाफा ४ करोड ४४ लाख, गाेर्खाज् फाइनान्सको ३ करोड २३ लाख, सेन्ट्रल फाइनान्सको ३ करोड ९ लाख, रिलायन्स फाइनान्सको २ करोड २२ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको १ करोड ३६ लाख र पोखरा फाइनान्सको नाफा याे अवधीमा १ करोड १३ लाख ६० हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

४ कम्पनीको नाफा करोडभन्दा कम

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा फाइनान्स कम्पनीहरुको नाफा १ करोडभन्दा कम छ । नेपाल फाइनान्स कम्पनीको पाँच महिनाको नाफा ८५ लाख २० हजार पुगेको छ । त्यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीको खुद नाफा ५७ लाख ८० हजार रुपैयाँ मात्रै पुगेको छ ।

नेपाल शेयर मार्केट एण्ड फाइनान्सको खुद नाफा ५० लाख ४ हजार र प्रोग्रेसिभ फाइनान्सको नाफा ६ लाख ३ हजार रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

समृद्धि र क्यापिटल मर्चेन्ट घाटामा

५ महिनाको मुनाफाको तथ्यांकअनुसार समृद्धि फाइनान्स कम्पनी र क्यापिटल मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स कम्पनी भने घाटामा छन् । क्यापिटल मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सलाइ राष्ट्र बैंकले खारेजीकाे प्रकियामा लगेकाे छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनासम्म (मंसिर) मा सम्वृद्धि फाइनान्स कम्पनी अघिल्लो महिनाको तुलनामा १४ लाख ६० हजार घाटामा छ भने क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी अघिल्लो महिना (कार्तिक) को तुलनामा ३५ लाख १० हजार रुपैयाँ घाटामा गएको बताइएकाे छ ।