कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति’ पुस्तक प्रकाशित

-



     सफल आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ माघ । आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक प्रकाशित भएको छ ।

बुकहिल पब्लिकेशनले प्रकाशन गरेको सो पुस्तकमा मानव जातिका संघर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेखलाई समेटेको छ । ढुंगे युगदेखि आधुनिक विद्युतीय चामत्कारिक युगसम्ममा मानव जातिले हासिल गरेका उन्नति, प्रगति, उपलब्धि र वैभवका अन्तरकथाहरू साथै सामना गरेका चुनौती, विपत्ति र असफलताका गाथाहरू समेतलाई सरल र कौतुहलपूर्ण ढंगले व्याख्या गरिएको लेखक पौडेलले बताए ।

पुस्तकबारे उनले भने, ‘पुस्तकमा मूलतस् सुमेर सभ्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको सूचनाप्रविधिको क्रान्तिकारी छलाङसम्मका रोमान्चक परिघटनाहरू समावेश गर्ने कोसिस गरेको छु ।’ पौडेलका अनुसार युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्र नभई विजय, शान्ति र सिर्जनाका अभिलेखहरू, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनतालाई नवीन चेतनाका किरणहरूले उज्यालो छरेका आधुनिकताका सन्दर्भहरू पनि पुस्तकमा समावेश गरिएको छ ।

म्याग्दीमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययनपश्चात स्वीडेनको लुन्ड विश्वविद्यालयबाट ‘इकोनोमिक हिस्ट्री’मा स्नातकोत्तर गरेका पौडेल अहिले डेनमार्कको कोपनहेगनमा बस्दै आएका छन् ।

‘ट्रेड पेपर-ब्याक’ संस्करणमा प्रकाशन भएको यो पुस्तक बजारमा सीमित कपीहरूमात्रै वितरण हुने बताइएको छ । किताब यात्रामा प्रिअर्डर गरेर वा अनलाइनमार्फत् पनि पुस्तक खरिद गर्न सकिने जनाइएको छ । पाठकको रुचीअनुसार ‘मास मार्केट पेपरब्याक’ निकट भविष्यमा सार्वजनिक गरिने पनि जानकारी दिइएको छ ।

अर्थशास्त्र, इतिहास र विकासको अध्ययनकर्ताका लागि मात्र होइन त्यसमा रुची राख्नेहरुका लागि उपयोगी र आर्थिक अध्ययन कठिन विषय ठान्नेहरु समेत सबैका लागि सरल र रुचिकर लाग्ने उक्त पुस्तक सात खण्डमा विभाजित छ । २९६ पृष्ठको किताबको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।