बिमा समितिद्वारा प्राइम लाइफ इन्स्योरेन्स पनि कारबाहीमा, १० हजार जरिवाना

-



     सफल आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ माघ । बिमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि कारबाही गरेको छ । तलबभत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको भन्दै बिमा समितिले कारबाही गरेको हो ।

समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता तथा राजुरमण पौडेलद्वारा जारी विज्ञप्तिमा बिमा समितिबाट जारी सुशासनसम्बन्धि निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमा सम्बन्धि निर्देशन २०७३ विपरित कार्य गरेका कारण सो इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सुशासनसम्बन्धि निर्देशिका २०७५ को दफा १२ उल्लंघन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बिमितको हित बिपरित नक्कली बिमालेख जारी हुन गएको र वैदेशिक रोगजार बिमा नगरेको देखिएकाले बिमा ऐन २०४९ को दफा ३६ को उपदफा १ बमोजिम कारबाही गरिएको बिमा समितिले जनाएको छ ।

गएको शुक्रबार मात्रै बिमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको थियो । बिमा समितिले सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा ३१ को उपदफा ९१० र ९२० मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्ति गरेको भन्दै नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।