आयल निगमको कार्यकारी निर्देशकका लागि १७ को आवेदन

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । कार्यकारी निर्देशकको रिक्त रहेको पदका लागि १७ जनाले आवेदन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उक्त पदका लागि २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो । त्यस समयमा दिने आवेदकमध्ये उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारीलगायत छन् ।

मन्त्रालयका अनुसार आवेदन दिनेहरुमा जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा‍. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले पनि आवेदन दिएको मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

छनौट समितिले आवेदन दिने उम्मेदवारको कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता लिनेछ । जसमा धेरै अंक ल्याउने ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ र मन्त्रिपरिषद्ले १ जनालाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने प्राबधान छ ।