कानूनी बन्देज रहेकाे क्रिष्टोकरेन्सी र नेटवर्किङ व्यवसाय नगर्न राष्ट्र बैंकको चेतावनी

-



     आरजू विष्ट सल्यानी    
     माघ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले पुनः क्रिष्टोकरेन्सीको कारोबार नगर्न नगराउन संबद्ध सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंक गभर्नरको कार्यालयले आज क्रिष्टोकरेन्सी तथा नेटवर्क मार्केटिङका बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्येश्यले जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गरी छिटो आर्थिक लाभ पाउने प्रलोभनमा परी क्रिष्टोकरेन्सीको प्रयोग, यसमा लगानी र नेटवर्किङ मार्केटिङमा लाग्नाले लगानी डुब्ने तथा आर्थिक नोक्सानी हुने भएकोले सचेत रहन आव्हान गरेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको सचेतनामूलक सामग्रीमा उल्लेख भए अनुसार यस्को कारोबारमा कानूनी अफ्टेरो पर्नसक्ने भएकोले क्रिष्टोकरेन्सीको कारोबार र नेटवर्किङ व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सचेत गराईएको छ ।

सूचना प्रबृधिको विकास र मानिसको इन्टरनेट पहुँचको बृद्धि भएसंगै नेटवर्किङ व्यवसायले झन् धेरै बिस्तारीत रुप लिएको राष्ट्र बैंकले जनाएको छ । यस्ले क्रस बोर्डर रुपमासमेत गतिविधि बढाउने मौका पाएको छ ।

अधिकांश यस्ता व्यवसायले एउटा देशबाट अर्को देशमा कारोबार तथा सदस्य परिचालन गरी अर्को देशमा रहेका ग्राहकहरु ठग्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालमा पनि जोसियल, क्राउड वन, सोल म्याक्स ग्लोबल जस्था संस्थाहरुले मार्केटिङ कम्पनी भएको दावि गर्दै पीरामिड स्किम संचालन गरिरहेको जनाईएको छ ।

राष्ट बैंकले केहि मुलुकले व्यवसायीलाई भुक्तानीको रुपमा स्वीकार्न छुट दिएको भएपनि एल साल्भोडोर बाहेक कुनै पनि मुलुकले क्रिष्टोकरेन्सीलाई कानूनी मान्यता नदिएको जनाएको छ ।

नेपालमा क्रिष्टोकरेन्सीलाई विदेशी विनिमय ऐन, २०१९ बमोजिम मुद्रा वा विदेशी विनिमयको मान्यता नदिईएकोले यस्लाई भुक्तानी, सटही नगर्न र मौद्रिक उपरणको रुपमा प्रयोग गर्न बन्देज गरिएको राष्ट्र बैंकले जनाएको छ ।