
काठमाडौं, १७ फागुन । स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन ।
विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए ।
‘सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’ बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था छ ।
धारा जडानका लागि पटक–पटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताए ।
उक्त स्वास्थ्य चौकीमा १ अनमी, २ अहेब, १ जनस्वास्थ्य निरीक्षक, १ ल्याब असिस्टेन्ट कार्यरत छन् । त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायत सेवा पनि सञ्चालनमा रहे पनि मापदण्डअनुसारको भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीका भनाइ थियो । ‘हामीसँग १० कठ्ठा जग्गा छ, त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म पुरानै भवनमा छौं, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ ।’ एउटा कोभिड भवन पनि आवश्यक रहेको इञ्चाज डाँगीको भनाइ थियो ।
बर्थिङ सेन्टरमा मासिक ६ जना
स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा मासिक सरदर छ जनाले सेवा लिने गरेका छन् भने ल्याब सेवामा मासिक सरदर २०/२२ जनाले सेवा लिने गरेका छन् । ल्याबका लागि चाहिने आवश्यक सामग्रीसमेत उपमहानगरपालिकाले उपलब्ध नगराएकाले कर्मचारीले नै ल्याउनुपर्ने अवस्था छ ।
राज्यमन्त्रीको चासो
उक्त स्वास्थ्य चौकीबारे गुनासो बढेपछि बल्ल लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री९वली०ले चासो देखाएकी छन् । उनले स्वास्थ्य चौकीको अनुगमनपछि त्यसलाई सुधार गर्न पहल थाल्ने बताइन् । ‘त्यहाँ पानीको पनि समस्या देखियो, सामग्री पनि आफै खरिद गर्नुपर्ने अवस्था देखियो, भवनको पनि त्यतिकै समस्या रहेछ,’ उनले भनिन्, ‘यो समस्या समाधान गर्न म पहल गर्छु ।’








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




