खोला थुनेर कृत्रिम ताल बनाइँदै, निर्माणका लागि १३ करोड खर्च लाग्ने अनुमान

-



     सफल आवाज    
     फागुन २३ गते २०७८ मा प्रकाशित


फाइल तस्बिर


तनहुँ, २३ फागुन । तनहुँको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो । कृत्रिम ताल निर्माणका लागि गाउँपालिकाले गत वर्ष नै डीपीआर तयार गरेको थियो ।

टेण्डर प्रक्रियामार्फत् गोफाखोला थुनेर ताल बनाउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । डीपीआरअनुसार ताल निर्माणका लागि करिब १३ करोड रुपैयाँ बजेट अनुमान गरिएको छ । पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट विनियोजन गरेर ताल निर्माण गरिने बताइएको छ ।

ताल निर्माणका लागि हालसम्म ३ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारबाट १ करोड रुपैयाँ, चालू आर्थिक वर्षमा ८० लाख रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाबाट १ करोड र चालू आर्थिक वर्षमा गाउँपालिकाबाट ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

चालू आवमा ९९ लाख ८१ हजार २५६ रुपैयाँको काम हुनेछ । विसं २०७९ असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । ‘बजेट अभावका कारण ४/५ वर्षभित्र ताल निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ, पर्याप्त बजेट नभएकाले वर्षेनी बजेट राखेर काम अगाडि बढाउँछौँ,’ श्रेष्ठले भने । उनासी रोपनी क्षेत्रफलमा ताल निर्माण गर्ने योजना छ । ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पु¥याइएको छ । ‘यहाँका बासिन्दा बसाइँसराइ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुनेक्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिस फिर्ता हुने विश्वास गरेका छौँ,’ गाउँपालिकाका अध्यक्ष रानाले भने । गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ । गाउँपालिका अध्यक्ष रानाका अनुसार उक्त जग्गाको रोपनीको १ लाख रुपैयाँका दरले मुआब्जा दिने सहमति भएको छ । ‘मुआब्जा दिएपछि जग्गा गाउँपालिकाको हुने र तालबाट हुने आम्दानी गाउँपालिकाले प्रयोग गर्नेछ,’ उनले भने ।

घुमाउने ताल नामकरण गरिएको तालका बीचमा मन्दिर बनाउने योजना बनाइएको छ । ‘डुंगा चढेर तालका बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन्, उक्त ताललाई पोखराको फेवाताल जस्तै गरि विकास गरिनेछ,’ अध्यक्ष रानाले भने । उनका अनुसार ताल वरपरका क्षेत्रमा रेष्टुरेन्ट, वनभोजस्थल लगायतका पूर्वाधार निर्माण गरिने छन् ।

गाउँपालिकामा प्राकृतिक पुल, तालैताल, चौबिसे राज्यअन्तर्गतको घिरिङकोट दरबारलगायत पर्यटकीयस्थल छन् । घिरिङकोट दरबारमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि सारेको छ । घिरिङकोट दरबारबाट तनहुँका साथै स्याङ्जा, कास्की, पाल्पा, गोरखा, लमजुङका केही भूभाग अवलोकन गर्न सकिन्छ ।