
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ६१ युनिट रगत सङ्कलन भएको छ ।
विश्व शान्तिको कामना गर्दै शान्ति दीप अभियान, पोखराद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिट (आरदायु) को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र, पोखराको प्राविधिक सहयोगमा बुधबार महेन्द्रपुलस्थित हुलाक कार्यालय अगाडि उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको शुभारम्भ सामाजिक अभियन्ता, सञ्चारकर्मी एवम् ८५ औँ पटक रक्तदान गरिसक्नुभएका रक्त अभियन्ता कृष्णबहादुर थापाले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालका डिष्ट्रिक्ट फस्ट भिडीजी लायन किशोर बराललाई ब्लड ब्याग हस्तान्तरण गर्दै गर्नुभएको थियो । कार्यक्रमका व्यवस्थापक हरिश्चन्द्र शर्माका अनुसार दाताहरूको उत्साहजनक सहभागितामा ६१ युनिट रगत सङ्कलन भएको हो ।
८५ औँ पटक रक्तदान गरिसक्नुभएका रक्त अभियन्ता कृष्णबहादुर थापाले मानव जीवन बचाउन रगतको विकल्प रगत नै भएकाले यसको अभाव हुन नदिन नियमित रक्तदान अपरिहार्य रहेको बताउनुभयो । अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीका लागि एक पोका रगतले पुनर्जीवन दिने उल्लेख गर्दै उहाँले रगतको कृत्रिम उत्पादन नहुने हुँदा स्वस्थ नागरिकको मानवीय कर्तव्य नै रक्तदान भएको स्पष्ट पार्नुभयो ।
थापाले रक्तदान गर्दा शरीरमा कुनै कमजोरी नआउने बरु उल्टै शारीरिक तथा मानसिक स्फूर्ति बढ्ने बताउनुभयो । उहाँले विशेषगरी युवा पुस्तालाई भ्रम र डर त्यागेर जीवनदान जस्तो पुण्य कार्यमा अग्रसर हुन प्रेरित गर्दै हरेक तीन-तीन महिनामा रक्तदान गर्ने संस्कार विकास गर्न सबैमा आग्रह गर्नुभयो ।
सो अवसरमा प्रादेशिक रक्त सञ्चार सेवा, पोखराका निवर्तमान प्रमुख अर्जुन ज्ञवाली, नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष डण्डराज शर्मा, गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारी, महासचिव विजेन्द्र चौधरी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।










काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



