सीबीफिन र एडीबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्ने

-



     सफल आवाज    
     चैत्र ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को नेतृत्व र एसियाली विकास बैंक (एडीबी) आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्ने भएका छन् ।

एडीबी मनिलाका शीर्ष प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको बेला सीबीफिनसँग भेटवार्ता भएको हो । भेटवार्तामा वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफिनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

सीबीफिनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी नेपाललाई अबको दिनमा इन्फ्राक्चर फाइनान्सिङ मेकानिजम, माइक्रो इन्टरप्रेनेसिभ डेभ्लपमेन्ट प्रोजेक्ट, एसएमइ फाइनान्सिङ आवश्यक भएको बताए ।

‘साना तथा मझौला व्यवसायीहरुलाई विनाधितो कर्जा उपलब्ध गराउनुपर्छ । अनि मात्र उनीहरु दिगो रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन् । एमएसएमईहरुबाट ठूलो रोजगारी सिर्जना हुने हुनाले यी उद्योगहरूलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सीपकोसहित सहयोग गरिनुपर्छ,’ उनले भने ।

उनले प्रक्रियागत बाधाबिना उचित ब्याजदरमा जोड दिए । एमएसएमईहरुलाई प्रभावकारी रूपमा सञ्चालन गर्न धितोरहित ऋण दियो भने मात्र उनीहरु बाच्न सक्ने बताए । ‘महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक हुन्,’ उनले भने, ‘महिलालाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट व्यवसाय प्रवर्द्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठूलो सहयोग पुग्ने सुझाव दिए ।

बैठकमा सीबीफिनका अध्यक्ष पवनकुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई १ अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे । जसले गर्दा तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उनले बताए ।

व्यावसायिक क्षेत्रका उद्यमीहरूले कोभिड–१९ ले थला परेका उद्योग पूर्ण क्षमतामा सञ्चालन भए आर्थिक क्रियाकलाप चलायमान हुने उनले बताए । विभिन्न वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको उनको भनाइ छ ।

‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ । रेमिट्यान्स निकै न्यून छ । बीओपी पनि २४७ अर्ब ३ करोडले घाटामा छ ।’ उनले भने, ‘यस्तो कठिन समयमा वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्न, प्रत्यक्ष च्यानलहरूमार्फत् एमएसएमइएसलाई ऋणमा राम्रो पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक छ ।’

सीबीफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिए । जसका लागि सीबीफिनले नीति संवाद, नीति निर्माण साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार रहेको बताए । विभिन्न बाधा–अड्चन पार गर्दै अगाडि बढ्नुपर्ने र उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्नेतर्फ उनको भनाई छ ।

शाहका अनुसार एसएमईएस÷एमएसएमईएस जस्ता उत्पादनमुलक उद्योग व्यवसाय प्रवर्द्धनका साथै आयात प्रतिस्थापन गर्ने कार्यमा नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त छेत्रमा तोकेको सीमाभन्दा बढी कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुले तिर्ने करमा १० प्रतिशत छुट दियो भने दिगो अर्थतन्त्र निर्माणमा सहयोग पुग्छ ।

कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर राणाले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सकिए गर्दा नेपालमै रोजगार, आयातमा कटौती भई सरकारलाई ठूलो राजस्व पनि उठाउन सकिने बताए । उनका अनुसार तरलताको समस्या केही हदसम्म समाधान हुन्छ ।

नेपाल हर्बल संघ, राष्ट्रिय एलो उद्यमी संघ, नेपाल निर्यातकर्ता महासंघ लगायतका व्यवसायीहरुले स्वदेशी निकासी हुने एलो, रेशम, जडिबुटी, कपडा तथा अन्य स्थानीय हस्तकलाका उच्च गुणस्तर उत्पादनहरुको प्रवर्द्धन गर्ने कुरा उठाएका थिए । तर, वित्तीय, बजार, पूर्वाधारलगायतका अभावका कारण यस्ता उत्पादनले उत्पादन बढाउन सकेका छैनन् ।

१८ हजारभन्दा बढी सदस्यको प्रतिनिधित्व गरेकी नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले नेपाली महिलाले गुणस्तरीय वस्तु उत्पादन गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उत्पादन विस्तार गर्न बैंक तथा वित्तीय संस्थासँग आर्थिक सहयोगको अपिल गरे । त्यसैगरी नेपाल राष्ट्रिय अल्लो उद्यमी संघका उपाध्यक्ष गणेश एईडीले यातायात र वित्तीय ठूलो समस्या रहेको बताए ।

एडीबी मनिलाका निर्देशक थियाम हि इंगले स्वदेशी उद्योगको सम्भावना र आत्मनिर्भर अर्थतन्त्रका लागि यस क्षेत्रको दिगो रणनीतिका बारेमा धारणा राखेका थिए ।