चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



सिन्धुपाल्चोक, १० चैत । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए।

शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए। बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।