आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘मेची-महाकाली मोटर र्‍याली’

-



     सफल आवाज    
     चैत्र ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ चैत । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) ले पहिलो पटक मेची-महाकाली मोटर र्‍याली यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर र्‍यालीको नारा ‘आन्तरिक पर्यटनको लागि सबैसँगै’ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुनेछन् ।

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर मोटर र्‍यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गरेका हुन् । एनवाइईएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई पवर्द्धन गर्न यो मोटर र्‍याली देशव्यापी रुपमा आयोजना गरिएको हो । उनका अनुसार मोटर र्‍याली जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो । जसले साहस र मनोरञ्जन प्रदान गर्ने उनले बताए । व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रवर्द्धन गरी उत्साह बढाउन यसले सघाउ पुर्‍याउँछ भने यस मोटर र्‍यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने उनले बताए ।

मोटर र्‍याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर र्‍यालीको विधिवत समापन हुने एनवाइईफले जनाएको छ ।