
पोखरा, १६ चैत । नेपाल पत्रकार महासंघ कास्कीले वर्षेनी दिँदै आएको मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार रविना आलेलाई अर्पण गरिएको छ । उनलाई २० हजार १ सय ११ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा महासंघ कास्कीले एक समारोहका बीच उक्त पुरस्कार हस्तान्तरण गर्यो । कार्यक्रममा ‘महामारीमा पत्रकारिता’ विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा शुभकामना दिँदै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवि पत्रकारहरुको हकहितका लागि पत्रकार महासंघले महत्वपूर्ण काम गर्दै आएको बताए। उनले पत्रकार समाजको चौथो अंग भएकाले सत्य, तथ्य सूचना प्रवाह गर्दै आवाज विहिन जनताका आवाजलाई बुलन्द पार्न पत्रकार संवेदनशील र सक्रिय भएर लाग्नुपर्ने आवश्यकतालाई औंल्याए।
मन्त्री थापाले गण्डकी प्रदेश सरकार पत्रकारमैत्री कानून निर्माण गर्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । ‘आम संचार विधेयक विद्यायन समितिमा गएको छ । पत्रकारका विज्ञ साथीहरुसँग छलफल समेत गरिएको अवस्था छ । विधेयकमा देखिएका समस्यालाई संशोधन गर्दै विधेयक ल्याउँछौं । जसले गण्डकीका पत्रकारलाई सहज वातावरण बनाउनेछ, उनले भने
मन्त्री थापाले महामारीका कारण समस्यामा परेका मिडियालाई माथि उठाउने गरी नीति निर्माणमा प्रदेश सरकारको ध्यान पुगेको बताए।
कार्यक्रममा गण्डकी प्रदेश सरकारकी सांसद मीना गुरुङले पत्रकारिता क्षेत्रमा महिलाहरुले भोग्नुपरेको पिँडालाई आत्मसात् गर्दै पुरस्कार स्थापना गरेको जानकारी गराइन । उनले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि आफु प्रतिबद्ध रहेको उल्लेख गरिन् ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले माननीय मीना गुरुङले पत्रकारका समस्यामा मल्हम लगाउन पुरस्कार स्थापना गरी हौसला थप्ने काम गरेको प्रति धन्यवाद व्यक्त गरिन्। उनले पत्रकार महासंघ कास्कीका पत्रकारहरुको हकहितका लागि साथमा रहेको उल्लेख गरिन् ।
पुरस्कार ग्रहण गर्दै पत्रकार रविना आलेले पुरस्कारले मिडिया क्षेत्रमा नै क्रियाशील हुने प्रेरणा मिलेको बताइन। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना र त्रिभूवन पौडेलले प्रेस स्वतन्त्रताका कार्यक्रममा केन्द्रित रही पत्रकार महासंघले आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाएको जानकारी गराए।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद प्रतिकले नेपालमा प्रजातन्त्र ल्याउन पत्रकारहरुले गरेको कामको प्रशंसा गरे। नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोलाले महासंघ नागरिक अधिकारको पक्षमा लैड्दै आएको अभिव्यक्ति प्रस्तुत गरे। पत्रकारको अधिकारको विषयमा आवाज उठाउनुपर्ने आवश्यकतालाई उनले जोड दिए।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रतिभा छनोट समिति संयोजक कुशुम केशव पराजुलीले रविना आलेको विषयमा बोलेका थिए । आले २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी छन् । भिमाद नगरपालिका वडा नं १ मा जन्मनुभएकी आले रेडियो तरङ र हिमदूत पत्रिकामा छन् । हालै मात्र आलेलाई नेपाल प्रेस युनियन कास्कीको कार्यवाहक अध्यक्षको जिम्मेबारी दिइएको छ ।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले स्वागत गरेको कार्यक्रममा पत्रकार सन्तोष पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



