
रामपुर (पाल्पा), १६ वैशाख । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन। गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छन् । ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन ।
तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ । गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेको राना बताउछिन् । उनले भनिन्, “गाउँबाट तानसेन पुग्न चार, पाँच घण्टा लाग्छ, एक दुई जना पनि साथमै लिएर जानुप¥यो, टाढाको ठाउँ, खाने, बस्ने गाडी भाडा खर्च, आउजाउ गर्न सकस हुन्थ्यो, यहीँ सुविधा पाइयो, धेरै खुसी छु । ”पन्ध्र वर्षको उमेरमा विवाह गरेकी रानाले पहिलो सन्तान जन्माएकी हुन् ।
डा रन्दीप राउतसहितको टोलीले रानाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । गाउँघरमा सेवा सुविधा विस्तार हुँदा नागरिकलाई सेवा लिन सजिलो भएको रानाकी सासुआमा इमिसरा बताउछन् । उनले चार छोरा र एक छोरीलाई मेलापात, घाँसदाउरा तथा गोठालो गर्दै जन्माएकी थिइन । “अब छोरी बुहारी अस्पतालमै सुत्केरी हुनुपर्छ, नत्र ज्यानको जोखिम रहन्छ”, इमिसराले भनिन् । “हाम्रो समयमा गाउँमा स्वास्थ्य सुविधा थिएन, कोहीले मेलापात, कोहीले घाँसदाउरा, गोठालो गर्दैमा बच्चा जन्माए”, उनले भनिन् ।
अस्पतालमा २०७७ चैतमा तत्कालीन डा वासुदेव सुवेदीसहितको टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो । त्यसबेलादेखि नियमितरुपमा डा सुवेदी नेतृत्वको टोलीले गत वर्ष भदौसम्म शल्यक्रियामार्फत सफल प्रसूति सेवा प्रवाह गर्दैआएको थियो । डा सुवेदी अन्यत्र सरुवाभएपछि उक्त सेवा बन्द हुन पुग्यो । हालसम्म २७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतमले बताइन । उनका अनुसार गत साउनदेखि हालसम्म अस्पतालमा २०९ जनाले प्रसूति सेवा लिएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियारले अहिले चिकित्सकको व्यवस्थापन भएपछि रोकिएको सेवालाई पुनः सुरु गरिएको बताए । “चिकित्सक अभाव र प्राविधिक समस्याले अस्पतालमा करिब सात महिना शल्यक्रियाबाट प्रसूति सेवा रोकिन पुग्यो, अब नियमितरुपमा सेवा पाइन्छ”, उनले भने। शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक तथा आवश्यक उपकरणको बन्दोबस्त गरिएको छ ।
विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको उक्त अस्पतालमा झण्डै २५ वर्षपछि शल्यक्रिया सेवा सुरु भएको थियो । गर्भवती, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफारलगायत सेवा दिने गरी निक साइमन्स् इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालिएका हो । प्रसूति सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व (नवलपुर) को केन्द्रबिन्दु रामपुरमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्दो छ ।
अस्पतालले बाहिर जान नपर्ने गरी सेवा दिन चिकित्सकलाई निर्देशन दिएको छ । चिकित्सकले चौबिसै घण्टा खटिएर सेवा दिइरहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




