आपूर्तिमन्त्री दिलेन्द्र बडू र नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन बीचकाे भेटमा के के भयाे छलफल ?

-



     सफल आवाज    
     वैशाख १६ गते २०७९ मा प्रकाशित



काठमाडाैं, १६ बैशाख । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन। मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो।

छलफलमा महामहिम राजदूतले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य मार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गरेका थिए । उनले नेपाल बंगलादेश बीचको सौविध्यपूर्ण व्यापार सम्झौताको छलफललाई अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउँदै नेपाली वस्तुहरुको बंगलादेश निर्यातमा सहजीकरण गर्न बंगलादेश सरकार तत्पर रहेको कुरा उल्लेख गरेका थिए।

राजदूतले गतवर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका पक्षबारे चासो राख्नुहुँदै ऊर्जा विकास, व्यापार, पर्यटनलगायतका क्षेत्रमा बंगलादेशले नेपालमा लगानी गर्न चाहेकोले त्यसका लागि लगानीमैत्री वातावरण र लगानी सुरक्षाको विषयमा मन्त्रीज्यूबाट नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन ।

मन्त्री बडुले कोभिड—१९ महामारीमा बंगलादेशले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको बताए । मन्त्री बडूले द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरी दुबै देशले अधिकतम पारस्परिक लाभ उठाउनसक्ने विचार व्यक्त गरे ।

नेपाल र बंगालदेशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्ष प्रवेशको अवसरमा राजदूत चौधरीमार्फत बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा दुई देशबीच वाणिज्य, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा थप सहकार्य हुने विश्वास व्यक्त गरेका थिए ।