मुख्यमन्त्री पोख्रेलले गरे आई एन एफ नेपाल हरियोखर्क अस्पतालको अवलोकन

-



     सफल आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित



पोखरा,७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल तथा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड्का सहितकोे टोलीले पोखरास्थित इन्टरनेसनल नेपाल फेलोसिप (आई एन एफ) नेपालद्वारा सञ्चालित हरियोखर्क अस्पातलको अवलोकन भ्रमण गरेका छन । एक औपचारिक कार्यक्रम बीच सो टोलीलाई आई एन एफ नेपाल हरियोखर्क अस्पातलले स्वागत गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुख्यमन्त्री पोखरेलले कुष्ठरोगको उपचारका लागि खुलेको हरियो खर्क अस्पतालले निरन्तर सेवा प्रदान गर्दै हाल शारीरिक असक्तता, कान , स्पाइनल कर्ड इन्जुरी जस्ता स्वास्थ्य समस्याको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा प्रशंसा व्यक्त गरे । अस्पतालका बारेमा आफूले धेरै पहिलादेखि नै सुनेको भए पनि यसको इतिहास र हाल गर्दै आएका कामका बारेमा स्थलगत रुपमै जानकारी लिन पाउदा खुशी लागेको विचार व्यक्त गरे ।

विभिन्न कारणले स्पाइनल कर्डको समस्या भएका बिरामीका क्षेत्रमा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराउदै उनले यसका लागि अस्पताल संग आवश्यक समन्वय र सहकार्य गर्न सकिने कुरा व्यक्त गरे । प्रदेश सरकार विकास निर्माण मात्र नभएर स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा समेत देखिने गरी काम गर्दै आएको भन्दै उनले आगामी वर्षको बजेटमा समेत यस्ता क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका सभापति तथा आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले पोखरा, सुर्खेत र नेपालगन्जमा समेत संस्थाद्धारा अस्पताल सञ्चालन गर्दै आएको र पोखरामा अन्यत्र भन्दा भिन्न र विशिष्टीकृत सेवा प्रदान गर्दै आएको जानकारी गराए । साथै यस अस्पतालमा स्वास्थ्य उपचार मात्र नभएर त्यस पछिको सम्पूर्ण जीवन पद्दती कसरी जिउने भनेर त्यसै अनुरुपका तालिम समेत सेवाग्रहीलाई प्रदान गरिने बताए । अन्तमा उनले अस्पताल अवलोकनका लागि मुख्यमन्त्री सहितको समुहलाई आभार प्रकट समेत गरेका थिए ।

सो अवसरमा भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकास मन्त्री कुमार खड््काले कुष्ठरोगको उपचारका लागि खुलेको अस्पतालले अहिले विविध क्षेत्रमा पु¥याएको सेवाको खुलेर कदर गरे । अस्पतालको सेवा विस्तारका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो । साथै उनले नेपाल सरकारले आई एन एफ लाई विगत ७० वर्ष देखि सहयोग गर्दै आएको र अभिभावकत्व प्रदान गर्दै भविष्यमा पनि यस्तै साथ र सहयोग रहने बताए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै अस्पताल निर्देशक डा. अरुण कुमार बुढाले अस्पताल स्थापनादेखि हालसम्मका गतिविधी र भावी योजनाका बारेमा प्रकाश परेका थिए । भारतबाट आएको विशेषज्ञको समुहले नेपालीको समेत सहभागितामा वि सं २००९ सालमा पोखरामा सबैभन्दा पहिला साइनिङ अस्पताल खुलेको उनले बताए । अपांगता भएकाहरुको लागि कृत्रिम हातखुट्टा बनाउनेदेखि श्रवणयन्त्रको काम समेत हाल हरियोखर्क अस्पतालमा हुने गरेको जानकारी गराए ।

साथै कार्यक्रममा सेवाग्राहीको तर्फबाट उपचारपछिको खुशी साट्दै १६ वर्षको उमेरमा रुखबाट खसेर ढाड भाँचिएपछि जीवनको आशा मारेकी स्याङ्जा भीरकोटकी पूनम विकले आफ्नो कथा सुनाइन् । दुर्घटनालगत्तै भारतमा गएर उपचार गराए पनि पूर्णरुपमा आफुलाई निको नभएको तर हरियोखर्कको उपचार सेवा पछि आफुले नयाँ जीवन प्राप्त गरेको बताइन् । हाल उनी अस्पातल कर्मचारीको रुपमा कार्यरत छिन् ।

उक्त अवलोकन टोलीमा गण्डकी प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रवीलाल पन्थ, स्वास्थ्य सचिव डा. श्रीराम तिवारी सहित सहभागी थिए ।

सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा आईएनएफ नेपालले बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की, लमजुङ र गोरखा जिल्लाहरुमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएनएफ नेपाल यस वर्ष ७० वर्षमा प्रवेश गरेको छ ।