सरकारले कुन- कुन सचिवकाे गर्‍यो सरुवा ?

-



     सफल आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ जेठ । सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गरिएको बताए हुन।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

सरकारका प्रवक्ता कार्कीले संयुक्त राज्य अमेरिकामा आयोजना हुने साइबर सेक्युरिटि लिडरसीप प्रोग्राम तथा तालिममा सहभागी हुन नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए । मन्त्री कार्कीले भने, “संयुक्त राज्य अमेरिकाको होनोलुलुमा आयोजना हुने कमप्रोहेन्सीभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत गर्ने र भारतमा हुने फूड सेक्युरिटीसम्बन्धी कार्यक्रममा सहभागी हुन कृषिमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृती दिने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्ले लोक सेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीको भनाइ छ ।