श्रीलङ्काका राष्ट्रपतिद्वारा आर्थिक सङ्कट समाधान गर्न अन्तरराष्ट्रिय सहयोगका निम्ति आह्वान

-



     सफल आवाज    
     जेठ १३ गते २०७९ मा प्रकाशित



कोलम्बो, १३ जेठ । देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले अन्तरराष्ट्रिय समुदायलाई श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरेका छन्। “हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलङ्कालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ।

हामीलाई तुरुन्तै अन्तरराष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलङ्काका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु,” राजापाक्षेले २७ औं अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भने। जापानको टोकियोमा भिडियोमार्फत आयोजित फ्युचर अफ एसिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा उल्लेख गरेको डेली मिररले जनाएको छ ।

चरम आर्थिक समस्याका बीच श्रीलङ्काले हालै करिब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको छ। साथै गलत आर्थिक नीतिहरूले देशले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न एवं अन्य आधारभूत आवश्यकताहरू जस्तै खान पाकाउने इन्धन र ग्यासको चरम अभावको सामना गर्नुपरेको छ। “कोभिड-१९ बाट पर्यटन उद्योगमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट र श्रीलङ्काको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय सङ्कट निम्त्याएको छ ।

“भविष्यमा विश्वले सामना गर्ने अझ व्यापक समस्या भनेको खाद्य सुरक्षासँग सम्बन्धित छ। आगामी महिनाहरूमा खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले धेरै देशहरूमा ठूलो दबाब दिनेछ,” डेली मिररले राष्ट्रपतिलाई उद्धृत गर्दे उल्लेख गरेको छ । राष्ट्रपतिले युक्रेन–रुस द्वन्द्वले कोभिड–१९ को महामारीपछि पीडित मुलुकमा सङ्कट थपिएको भन्दै त्यस्ता जोखिममा परेका राष्ट्रहरूलाई सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरे । उनले मुलुकमा देखिएको सङ्कटलाई समाधान गर्नका निम्ति राष्ट्रहरूबीचको सहकार्य बढाउनुपर्नेमा पनि विशेष जोड दिए ।