आगामी मौद्रिक नीतिको तयारीका लागी सुझाव माग्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     जेठ १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट बैंकले मौद्रिक नीतिको तयारी शुरू गरेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै मौद्रिक नीतिको तयारी शुरू भएको जनाएको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै मौद्रिक नीतिका लागि राय तथा सुझाव संकलन शुरू गरिएको जनाएको छ ।

मौद्रिक नीति ढिलोमा साउनको पहिलो सातासम्ममा ल्याइने गरी तयारी भएको मौद्रिक नीति निर्माणको जिम्मेवारी पाएकाे राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले जानकारी दिएका छन ।

‘मौद्रिक नीतिका लागि सरोकारवाला पक्षसँग भर्चुअल सुझाव मागिरहेका छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले भने । अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटलाई सहयोग गर्नेगरी राष्ट्र बैंकले मौद्रिक नीति बनाउँछ ।

नयाँ मौद्रिक नीति निर्माणको लागि सुझाव तथा अन्तक्र्रिया कार्यक्रम निजी क्षेत्रका सबै छाता संघ संगठन, बैंक तथा वित्तीय संस्था, पत्रकारहरुसँग असारको पहिलो साता एकै पटक गरिने समेत कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि सुझाव मागेको हो । जसका लागि केन्द्रिय बैंकको आर्थिक अनुसन्धान विभागको इमेलमा सुझाव पेश गर्न सकिने उल्लेख छ ।

सरकारले ८ प्रतिशत आर्थिक वृद्धि र मूल्य वृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । तर, बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्राको सञ्चितिका साथै मुद्रास्फीति लक्ष्यभन्दा माथि पुगेपछि दबाबमा रहेको राष्ट्र बैंकले आगामी दिनमा कसिलो मौद्रिक नीति अवलम्बन गर्ने संकेत गरेको छ ।