गाँजाका झारपातको अद्भूत भूमिमा परिणत हुँदै थाइल्याण्ड

-



     सफल आवाज    
     जेठ २८ गते २०७९ मा प्रकाशित



इस्लामावाद, २८ जेठ । थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियको पहिलो देश भएको छ । थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई आफ्नो स्वामित्वमा राख्न पाउने कानुनी प्रबन्ध गरे पनि धुमपानका रुपमा गाँजाको सेवनलाई निरुत्साहित गरेको छ । चिलिममा गाँजा सेवन गर्ने अम्मली पुरानो पुस्ताका निम्ति सरकारी घोषणा सपना झै भएको छ । बिहीबारदेखि गाँजा खेतीले वैधानिक मान्यता पाएपछि गाँजाको धुवाँमा रमाउने बुढो पुस्ताले विविधतायुक्त थाई ‘स्टिक’लाई सम्झेका छन् ।

देशका जनस्वास्थ्य मन्त्रीको दश लाख गाँजाका विरुवा वितरण गर्ने योजनाले शुक्रबारदेखि थाइल्यान्डलाई झारपातको अद्भूत भूमिमा परिणत भएको ठानिएको छ । खाद्य तथा औषधि प्रशासन विभागले सबै विरुवालाई लागूऔषधको श्रेणीबाट हटाउन गरेको निर्णयले थाइल्यान्डलाई चिकित्सा र औद्योगिक प्रयोगको लागि गाँजालाई वैधानिक बनाउने एसियाको पहिलो राष्ट्र बनाएको छ तर उसले उरुग्वे र क्यानडाको पदचाप पछ्याएको छैन । उरुग्वे र क्यानडा त्यस्ता देश हुन् जसले मनोरञ्जनका रूपमा गाँजा सेवलाई राष्ट्रिय वैधानिकता दिएका छन् ।

गाँजामाथिको प्रतिबन्ध हटेपछि अब थाई नागरिकले निर्वाध गाँजाखती गर्न र त्यसको सेवन गर्न सक्छन् । उनीहरूलाई प्रहरी प्रशासनले कारबाही गर्नेछैन । तर त्यसो गर्नुअघि उनीहरूले दर्ता गर्नुपर्नेछ र गाँजाखेती औषधीय उद्देश्यका निम्ति भएको घोषणा गर्नुपर्नेछ । केही थाई कानुन व्यवसायीहरूले बिहीबार एउटा क्याफेमा गाँजा किनेर उत्सव मनाए । बुधबारसम्म उनीहरूका निम्ति त्यो वर्जित थियो । खुलेआम खरिद–बिक्रीको कल्पना पनि गर्न सकिन्नथ्यो ।

दर्जनौंको सङ्ख्यामा ब्याङकको हाइल्याण्ड क्याफेमा एकत्रित भएका उनीहरू उखु, बबलगम, पर्पल अफगानी र युएफओ नामका विभिन्न प्रकारका कोपिलाबाट बनेका ‘माल’ चयन गर्न पाएर दङदास थिए । “म चिच्च्याएर भन्न सक्छु, म एक गँजेडी हुँ । गाँजालाई अवैध लागूऔषधको रूपमा चर्चा गरिँदा मैले त्यसलाई विगतमा गोप्य राख्नु परेको थियो,” हाइल्याण्ड क्याफेका पहिलो २४ वर्षीय ग्राहक रित्तिपोङ बाचकुलले लुकीलुकी गाँजा सेवन गरेको सुनाउँदै भने । “जहाँसम्म सरकारको सवाल छ, चिकित्सा प्रयोगलाई बढावा दिनु उनीहरूको काम हो ।

अनि यो एकदम स्पष्ट छ कि हामी धेरै टाढा आएर अन्ततः यसको प्रयोगलाई वैधानिकता दिएका छौँ ।” सरकारले गाँजाका फाइदा र बेफाइदा राम्ररी बुझेको बताउँदै क्याफेका सहसञ्चालक एवम् लामो समयदेखि गाँजालाई वैधानिक बनाउने अभियानका कार्यकर्ता रत्तापोन सानराक भन्छन् । थाइल्याण्ड विविधतायुक्त गाँजा पाइने देशका रूपमा परिचित छ । ‘थाई स्टिक’ले चिनिने कडा गाँजाका फूलहरू सुकाइन्छ र लट्ठीहरूमा बाँधिन्छ । हाल विदेशमा हुर्किरहेका धेरै प्रजातिहरूको उत्पत्तिस्थल थाइल्याण्ड हो ।

गाँजाको धुँवामा लट्ठिएर मस्तराम हुने चाहनेहरूलाई भने थाइल्याण्डको सरकारले चेतावनी दिएको छ । सार्वजनिकरूपमा गाँजा सेवनलाई अझै पनि अपराध मानिएको छ । कानुन उल्लङ्घन गरेमा तीन महिना कारबासको सजायसहित २५ हजार भाट जरिवाना तिर्नुपर्नेेछ । गाँजाबाट तेल निकाल्न मनाही गरिएको छ भने ०.२ प्रतिशतभन्दा बढी टेट्राहाइड्रोक्यानाबायोनिलको मात्रा भएमा त्यो दण्डनीय हुनेछ । चियाङ माई विश्वविद्यालयका विरुवा र माटो विज्ञान विभागका प्राध्यापक सरना सोम्मनो गाँजासम्बन्धी नयाँ कानून पारित भएपछि र नियमहरू स्पष्ट नभएसम्म पर्यटकहरूले सावधानीपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिन्छिन् ।

“यहाँ अझै जोखिमहरू छन्, गाँजालाई अब लागूऔषध मानिदैन तर यसको प्रयोगलाई नियन्त्रित गर्ने कुनै मन्त्रालयले नियम निकालेको छैन । यसको प्रयोगको सीमाबारे केही उल्लेख गरिएको छैन,” नयाँ प्रावधानबारे स्पष्ट योजना र तिनको व्याख्या नगरी मतदातालाई खुसी पार्न आफ्नो नीति हतारमा परिवर्तन गरिएको टिप्पणी गर्दै उनले भनिन् । विशेषगरी थाइल्याण्डले औषधीय उपयोगका निम्ति गाँजालाई बजारमा ल्याउन चाहेको छ । आफूसँग पहिलेदेखि नै राम्रोसँग विकसित ‘मेडिकल’ पर्यटन उद्योग छ भने देशको माटो र जलवायु गाँजाखेतीका निम्ति पनि उत्तिकै उपयुक्त छ ।